एसिया कपमा अफगानिस्तानविरुद्ध भारतको १०१ रनको सान्त्वना जित, काेहलीकाे शतक

एसिया कपमा अफगानिस्तानविरुद्ध भारतको १०१ रनको सान्त्वना जित, काेहलीकाे शतक

काठमाडौं : एसिया कपको आफ्नो अन्तिम खेलमा भारतले १०१ रनको सान्त्वना जित निकालेको छ।

२१३ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तान निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १११ रनमा समेटिएसँगै भारतले सान्त्वना जित निकालेको हो।

अफगानिस्तानका ब्याट्सम्यान चल्न नसक्दा त्यसको फाइदा भारतले उठायो। अफगानिस्तानका इब्राहिम जर्दानले सर्वाधिक अविजित ६४ रन बनाउँदा मुजिब उर रहमान १८ तथा रसिद खान १५ रनमा पेभेलियन फर्किए। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ भारतका भुवनेश्वर कुमारले पाँच तथा अर्शदीप सिंह, रविचन्द्रन अश्विन र दीपक हुड्डाले समान एक–एक विकेट लिए।

त्यसअघि युएईको दुबई क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१२ रनको विशाल योगफल बनाएको थियो।

उसका लागि केएल राहुल ६२ र सूर्यकुमार यादव ६ रनमा आउट हुँदा विराट कोहली र रिसव पन्तले अविजित रहँदै क्रमशः १२२ र २० रन जोडे। ६१ बलमा ६ छक्का र १२ चौकासहित कोहलीले शतक बनाए।

बलिङतर्फ अफगानिस्तानका फरिद अहमदले दुई विकेट लिए।

भारत र अफगानिस्तान दुवै यसअघि नै एसिया कपबाट बाहिरिएका छन्। फाइनलमा पाकिस्तान र श्रीलंका पुगेका छन्। फाइनल भिडन्त आइतबार हुनेछ।

त्यसअघि ‘समूह ४’ अन्तर्गत नै शुक्रबारको खेलमा पनि पाकिस्तान र श्रीलंका नै भिड्दैछन्। यो खेलमा हारजितले फाइनल समिकरणमा कुनै प्रभाव पर्नेछैन।

भदौ २३, २०७९ बिहीबार २३:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।