पशुपति कोषद्वारा ९६ करोडको बजेट पारित, शतबीज मार्गलाई विशेष प्राथमिकता

काठमाडौंः पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले ९६ करोड ८४ लाख ४७ हजार रुपैयाँको बजेट पारित गरेको छ।
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम् पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले प्रस्तुत गरेको बजेट पारित भएको हो।
बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ। पशुपति क्षेत्रमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्दै आएको छ। शतबीज मार्ग निर्माण तथा व्यवस्थापन गरी सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न लागिएको मन्त्री श्रेष्ठले बताए।
कोषको नीति, कार्यक्रम र बजेटमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था, खानेपानी र स्नान गर्ने पानीको व्यवस्थापन, आर्यघाट व्यवस्थापन तथा मलामी बस्ने स्थानको व्यवस्था, पार्किङ क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।
यस्तै, जीर्ण बनेका भौतिक संरचना निर्माण, मन्दिरका बहुमूल्य निधीको संरक्षण र संवर्द्धनलाई कोषले प्राथमिकता दिएको सदस्य(सचिव डा. मिलन कुमार थापाले बताए।
बैठकमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई छिट्टै अन्तिम रूप दिनेबारे पनि छलफल भएको थियो। गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताए।
भदौ २३, २०७९ बिहीबार १६:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।