आइफोन १४ का चार भेरियन्ट सार्वजनिक, यस्तो छ फिचर र मूल्य

काठमाडौं: विश्व चर्चित स्मार्टफोन निर्माता एप्पलले गए राति आइफोन १४ सार्वजनिक गरेको छ। एप्पलले आइफोन १४ का चार फरक-फरक मोडल सार्वजनिक गरेको छ।
आइफोन १४, १४ प्लस, १४ प्रो र १४ प्रो म्याक्स सार्वजनिक भएको हो।
आइफोनको यस संस्करणले नेटवर्क नभएको स्थानमा समेत भूउपग्रहको माध्यमबाट आपत्कालीन सम्पर्क गर्नसक्छ। यस्तै 'कार क्रयाश डिटेक्शन टेक्नोलोजी' पनि यसमा समावेश छ।
यस्तै क्यामेरामा पनि एप्पलले उल्लेखनीय सुधार गरेको छ। लो लाइटमा समेत उत्कृष्ट फोटो खिच्नसक्ने प्रविधि यसमा जडान छ। यस्तै सेल्फीलाई शार्प बनाउन कम्पनीले फ्रन्ट क्यामेरामा पनि अटो फोकस जडान गरेको छ।
एप्पलका अनुसार पछिल्लो १२ महिनामा मात्र आइफोन प्रयोगकर्ताहरूले ३ खर्बभन्दा बढी फोटो खिचेका छन्। आइफोन १४ को मूल्य ७९९ अमेरिकी डलर कायम भएको छ।
यस्तै आइफोन १४ प्रो र प्रो म्याक्समा कम्पनीले टप स्क्रिनमा डिजाइन परिवर्तन गरेको छ। यस्तै 'डायनामिक आइल्याण्ड' नामको नयाँ फिचर पनि जडान गरिएको छ। यसले अब नोटिफिकेशनअनुसार स्वरूप परिवर्तन गर्नेछ।
यस्तै अल्वेज अन डिस्प्ले राखिएको छ। यो सामसुङको एमोलेड स्क्रिन भएको फोनमा निकै पुरानो फिचर हो।
डीप पर्पल, सिल्भर, ब्ल्याक र गोल्ड गरी तीन रङ्गमा फोन उपलब्ध हुनेछ। १४ प्रो र १४ प्रो म्याक्स १२८ देखि एक टीबी स्टोरेज क्षमतामा उपलब्ध हुनेछ। यस्तै १४ प्रोमा ६.१ इन्चको डिस्प्ले छ भने १४ प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले छ।
दुवैमा ए-१६ बायोनिक चिप छ। ६ कोर सीपीयू, ५ कोर जीपीयू र १६ कोर न्युरल इन्जिन छ।
दुवैले ६० एफपीएसमा ४के भिडियो खिच्न सक्नेछ।
आइफोन १४ प्रोको मूल्य ९९९ अमेरिकी डलर कायम गरिएको छ।
भदौ २३, २०७९ बिहीबार १२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।