पोखराको महेन्द्रपुलमा चल्यो महानगरको डोजर, अब पार्क र पार्किङस्थल बनाइने

पोखराको महेन्द्रपुलमा चल्यो महानगरको डोजर, अब पार्क र पार्किङस्थल बनाइने

पोखरा: पोखरा महानगरपालिकाले महेन्द्रपुलमा रहेका आफ्ना संरचनामा डोजर चालाएको छ। महानगरले महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय रहेको भवन र सटरहरूमा डोजर चलाएको हो।

बिहीबार बिहान मेयर धनराज आचार्य, पोखरा- ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीसहित नगर प्रहरीको टोली भवन तथा सटर भत्काउन गएको थियो।

पोखरा क्षेत्रकै मुख्यबजार एवं व्यावसायिकस्थल महेन्द्र पुलमा पोखरा ग्यालरी रहेको तल्लो तलामा बनेका सटरहरू महानगरले भाडामा लगाउँदै आएको थियो। तर, ठेक्का प्रणालीमा भाडामा लगाए पनि सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन सकेको छैन।

पोखरामा पाकिंङ र खुल्ला ठाउँको अभाव छ। महानगरको मेयरमा धनराज आचार्य निर्वाचित भएसँगै जीर्ण भएका भवन हटाएर पाकिंङ तथा पार्क बनाउन सुझाब आएसँगै यी भवन भत्काउने निर्णय भएको थियो।

महानगरले अब यस स्थानलाई पार्क र पार्किङस्थलको रूपमा प्रयोग गर्ने मेयर आचार्यले जानकारी दिएका छन्।

पोखरामा २०५६ सालमा स्थापना भएको एक मात्र सार्वजनिक ग्यालरी भत्काइएपछि अब आर्ट ग्यालरी र पुस्तकालयलाई अन्यत्र व्यवस्थापन गर्ने मेयर आचार्यले बताएका छन्।

महानगरले त्यहाँ बसेका पसलेहरूलाई ठाउँ खाली गर्न यसअघि नै ३५ दिने सूचना दिएको थियो। त्यो म्याद २२ भदौमा सकिएसँगै आज महानगरले डोजर लगाएको हो।

भदौ २३, २०७९ बिहीबार ११:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।