प्रतिस्पर्धीलाई २६ मतान्तरले हराउँदै भलिबल सङ्घको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं: नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्। प्रतिस्पर्धी निरोज मास्केलाई २६ मतान्तरले पराजित गर्दै चन्द अध्यक्षमा चार वर्षका लागि निर्वाचित भएका हुन्।
आज बिहान सार्वजनिक मतपरिणामअनुसार अध्यक्षमा चन्दले ७६ मत तथा मास्केले ५० मत प्राप्त गरे। चन्द यसअघि सङ्घको महासचिव थिए। यसैगरी महासचिवमा अध्यक्ष चन्दकै प्यानलबाट रोशन श्रेष्ठ निर्वाचित भए। उनले ८५ तथा प्रतिस्पर्धी मनवीर छन्त्यालले ३९ मत पाए।
कोषाध्यक्षमा चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित भए। उनले ७८ तथा प्रतिस्पर्धी रीता कोइरालाले ४६ मत प्राप्त गरिन्। सङ्घको बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम लाछिवा ६४ मत प्राप्त गर्दै निर्वाचित भए। उनको प्रतिस्पर्धी ज्योती केसीले ५९ मत प्राप्त गरे।
सङ्घको नयाँ नेतृत्त्वसहित सात उपाध्यक्ष, महासचिव, सात सचिव, कोषाध्यक्ष र ११ कार्यसमिति सदस्यका लागि निर्वाचन भएको थियो।
सङ्घमा दुई उपाध्यक्ष र १० सदस्य मनोनयनबाट आउने व्यवस्था छ। मतदानअघि नै ६ उपाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए। उपाध्यक्षमा गण्डकी प्रदेशबाट याम गुरुङ, मधेश प्रदेशबाट उपेन्द्र यादव, सुदूरपश्चिम प्रदेशबाट हरकसिंह धामी, कर्णाली प्रदेशबाट भरतबहादुर शाह, प्रदेश १ बाट मदन खड्का र लुम्बिनी प्रदेशबाट भीम ओली निर्विरोध निर्वाचित भए।
सचिवमा प्रदेश १ बाट विनोद श्रेष्ठ, लुम्बिनी प्रदेशबाट झकबहादुर मिदेन, कर्णालीबाट सोमबहादुर श्रेष्ठ, मधेशबाट मोहम्मद फिरोज, गण्डकीबाट श्रीधर शर्मा, सुदूरपश्चिमबाट गणेशसिंह ठगुन्ना र बागमती प्रदेशबाट सुनकेशरी माली निर्विरोध निर्वाचित भए। निर्वाचनमा १२६ मतदाताले मतदान गरेका थिए।
भदौ २३, २०७९ बिहीबार १०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।