एसिया कपको फाइनलमा पाकिस्तान-श्रीलङ्का भिड्ने, नसिम शाहको अपत्यारिलो पारीले हार्‍यो अफगानिस्तान

एसिया कपको फाइनलमा पाकिस्तान-श्रीलङ्का भिड्ने, नसिम शाहको अपत्यारिलो पारीले हार्‍यो अफगानिस्तान

काठमाडौं: एसिया कप क्रिकेटको फाइनलमा पाकिस्तान र श्रीलङ्का भिड्ने तय भएको छ। गए राति सम्पन्न पाकिस्तान र अफगानिस्तानविरुद्धको खेलमा पाकिस्तान १ विकेटले विजयी भएसँगै फाइनल खेल्ने टोली तय भएको हो।

हिजोको खेलमा पाकिस्तान हारेको भए भारत र अफगानिस्तान दुवैले फाइनल खेल्न पाउने सम्भावना रहेको हुन्थ्यो। तर त्यसो नहुँदा यी दुवै टोली सुपर ४ भन्दामाथि उक्लन पाएनन्।

टस जितेर पहिले बलिङ गरेको पाकिस्तानले अफगानिस्तानलाई १२९ रनभन्दामाथि बनाउन दिएन। खेल एकपक्षीयरूपमा पाकिस्तानतर्फ ढल्केको अवस्थामा अफगान टोलीको कसिलो बलिङ र कसिलो फिल्डिङका कारण रोमाञ्चक बनेको थियो।

अफगानिस्तानले थोरै लक्ष्यलाई पनि अन्तिम ओभरसम्म डिफेन्ड गरिरह्यो। पाकिस्तानले ९ विकेट गुमाइसकेको अवस्थामा ६ बलमा ११ रन ल्याउनुपर्ने आवश्यकता थियो। अन्तिम विकेटको रूपमा रहेका फूल टाइम बलर नसीम शाहले अन्तिम ओभरको दुई बलमा लगातार दुई छक्का प्रहार गर्दै पाकिस्तानलाई जित दिलाए। उनले ६ बलमा १४ रन बनाए।

अफगानिस्तानले आफ्नो पक्षमा पारिसकेको म्याच नसिम शाहको अपत्यारिलो पारीका कारण पाकिस्तानको हातमा पुग्यो।

पाकिस्तान ब्याटिङतर्फ संघर्ष गरिरहेको थियो। कप्तान बाबर आजम शून्य रनमा आउट भएका थिए। यस्तै टी ट्वेन्टी ब्याट्सम्यानमा नम्बर १ स्थानमा रहेका मोहम्मद रिजवान हिजो जम्मा २० रन बनाएर आउट भए।

सादाब खान ३६ र इफ्तिखर अहमदले ३० रन बनाए। आसिफ अली १६ रन बनाएर आउट भए।

बलिङतर्फ अफगानिस्तानका फैजल फारुकी र फरिक अहमदले ३/३ विकेट लिए। राशिद खानले २ विकेट लिए।

ब्याटिङतर्फ अफगान टोलीका ईब्राहिम जाड्रान र हर्जलुल्लाह जाजइले २१ रन बनाए। रशिद खानले १८ तथा रहमानउल्लाह गुर्बाजले १७ रन बनाए। लो स्कोरिङ म्याचमा अरू खेलाडी खासै चलेनन्।

बलिङतर्फ पाकिस्तानका हरिस राउफले २, नसिम शाह, मोहमद हसनेन, सादब खान र मोहमद नवाजले १/१ विकेट लिए।

पाकिस्तान र श्रीलङ्काबीचको फाइनल आइतबार हुनेछ। अब भारतले अफगानिस्तानविरुद्ध औपचारिक खेल खेल्नेछ।

भदौ २३, २०७९ बिहीबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।