युट्युबमा राखेको भिडियोबारे १० दिनमा पनि अनुसन्धान सक्किएन, पाँच दिन म्याद थपियो

काठमाडौँ : स्ट्यान्डअप कमेडी प्रहसनमार्फत नेवार समुदायको संस्कृतिमाथि प्रहार गरेको आरोपमा अपूर्व क्षितिज सिंह १० दिन प्रहरी हिरासतमा बसे। उजुरीमा गरिएको दाबीको प्रमाण उनको त्यही भिडियो नै हो। अब यसमा थप प्रमाण बुझ्ने भनेको सिंहको बयान लिने, मिसिल कागज तयार पार्ने अनि सरकारी वकिललाई प्रस्तावित राय सुझाव बुझाउने नै हो।
तर प्रहरीले १० दिनमा यति प्रक्रिया पनि पुरा नगरी अनुसन्धानका लागि समय नपुगेको भन्दै थप पाँच दिन म्याद लियो बुधवार। कमेडी क्याफे नामको युट्युब च्यानलमा उनले नेवार समुदायको जात्रा, पर्व, संस्कृति र भाषालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्दा विवादमा आएका थिए।
विवादपछि सो च्यानलले भिडियो हटायो। सिंहले सामाजिक सञ्जालमा लेखेर माफी मागे। त्यतिले पुगेन भनेर विरोध जारी रहेपछि उनले भिडियो नै अपलोड गरे माफी मागेको।
तर सो समुदायका केही व्यक्ति जिल्ला प्रहरी परिसर काठमाडौँमा गएर उनी विरुद्ध उजुरी दिएपछि उनी आफैँ प्रहरी कार्यालयमा पुगेका थिए। प्रहरीले उनलाई हिरासतमा राखेर म्याद थप गरेको थियो।
सामाजिक सञ्जालदेखि संसद्सम्म सिंहलाई हिरासतमा राखिएकोबारे विरोध भयो। नेवार समुदायकै कलाकारहरूले समेत प्रहसनको प्रस्तुतिमा केही त्रुटि देखिए पनि प्रहरी हिरासतमै राख्नु गलत भएको भन्दै रिहाइको माग गरेका थिए। तर उनी रिहा भएनन्। उल्टो म्याद थपियो।
परिसरका एक प्रहरी अधिकारीले अनुसन्धान सकिए पनि मुद्दा प्रक्रिया बाँकी रहेकाले म्याद थपिएको र प्रहरीको प्रस्तावित राय सुझाव बिहीबार सरकारी वकिलको कार्यालय पठाउने दाबी गरे।
भदौ २२, २०७९ बुधबार १९:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।