सार्वजनिक मञ्चमा प्रचण्ड-जनार्दन सवाल-जवाफ : म अध्यक्षको कडा आलोचक- जनार्दन, जनार्दनलाई हुर्काएको मैले हो - प्रचण्ड

काठमाडौँ : संसदीय चुनाव लक्षित फोर्सको घोषणा गर्न माओवादीले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका उपमहासचिव जनार्दन शर्माबिच कसले कसलाई साथ दिएको भन्ने सवाल जवाफ चल्यो।
प्रचण्ड अगाडि बोलेका शर्माले नै यसको प्रारम्भ गरेका थिए। उनले आफू प्रचण्डको सबैभन्दा कडा आलोचक भएको बताउँदै परि आएको बेलामा रक्षा समेत गर्ने गरेको दाबी गरे।
अखिल क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा उनले भने ‘म अध्यक्षको सबैभन्दा कडा आलोचक हुँ। अध्यक्ष कमरेडको संरक्षण गर्ने पनि मै हुँ। नेतृत्वको कमजोरीको आलोचना गनुर्पछ।'
उनले कार्यक्रममा नेतृत्वले गलत गर्दा आलोचना गर्नुपर्ने भन्दै अखिलका कार्यकर्ताहरूलाई पनि नेतृत्वको आलोचना गर्न सुझाव दिएका थिए।
आफ्नो बोल्ने पालो आएपछि प्रचण्डले शर्माको जवाफ दिएका थिए। उनले शर्मालाई आफैँले अगाडि बढाएको भन्दै 'उनको रक्षा र विकास दुवै आफूले गरेको' दाबी गरे।
‘जनार्दनजीले नीति र नेतृत्व रक्षाको कुरा भन्नुभयो। जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो,’ उनले भने।
उनले आफू जनयुद्धदेखि अहिलेसम्म नेतृत्वमा रहेको बताउँदै अब लाखौँ उत्तराधिकारी तयार पार्न चाहेको दाबी गरे।
भदौ २२, २०७९ बुधबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।