यी क्रिकेटरले खेपी सकेका छन् बलात्कार मुद्दा

यी क्रिकेटरले खेपी सकेका छन् बलात्कार मुद्दा

काठमाडौँ : नेपाली क्रिकेट राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको जाहेरी दर्ता भयो मङ्गलवार। भदौ ५ गते भेट्न आएको १७ वर्षीय प्रशंसकलाई भक्तपुर लगेर मध्यरात काठमाडौँको एक होटेलमा बलात्कार गरेको उनीमाथि आरोप लागेको छ। उनी अहिले देश बाहिर छन्। प्रहरीले पीडितको स्वास्थ्य परीक्षण गराएर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

नेपालमा मात्र नभई विश्वका अन्य क्रिकेट खेलाडीहरूमाथि पनि बलात्कार यस्तो आरोप लाग्दै आएको छ। हार्दिक पाण्ड्यादेखि इयान किङगसम्मले बलात्कारको आरोप खेपी सकेका छन्।  

१. हार्दिक पाण्ड्या

इन्डियन क्रिकेट टिमका अल राउन्डर हार्दिक पान्ड्यामाथि गएको वर्ष नोभेम्बरमा बलात्कार एवम् यौन दुर्व्यवहारको  आरोप लाग्यो। रिपोर्टका अनुसार पाण्डेविरुद्ध कुख्यात ग्यांगस्टार रियाज भाटीकी पत्नी रेहनुमा भाटीले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी थिइन्। आफ्ना पति रियाजले आफूलाई हार्दिक लगायत अन्य व्यक्तिसँग जबरजस्ती सुत्न लगाएको आरोपसमेत ती महिलाले लगाएकी थिइन्। उनको आरोपपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

२.मुनाफ पटेल

चर्चित भारतीय बलर एवम् २०११ का विश्व कप विजेता मुनाफ पटेलमाथि पनि बलात्कार अभियोग लागेको थियो। उनी विरुद्ध पनि हार्दिक पाण्ड्यामाथि बलात्कार आरोप लगाउने महिला रेहनुमा भाटीले नै गत वर्षको नोभेम्बरमा बलात्कार आरोप लगाएकी थिइन्। आफ्ना पति रियाज भाटीले पूर्व बलर मुनाफ पटेलसँग होटलको कोठामा सुत्न बाध्य पारेको उनको आरोप थियो।

३. शोयब अख्तर

पूर्व पाकिस्तानी पेसर शोयब अख्तरमाथि पनि बलात्कारको आरोप लागेको थियो। उनीमाथि एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन्। सो घटना सन् २००५ मा पाकिस्तानी खेलाडीको अस्ट्रेलिया भ्रमणको क्रममा भएको थियो।

पाकिस्तानी खेलाडी र ती युवतीबिच भएको असमझदारीका कारण बलात्कारको गलत आरोप लागेको दाबी शोयबले गरेका थिए। आरोपपश्चात् पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले स्पष्टीकरण दिन आग्रह गरे पनि आरोप लगाउने युवतीको नाम भने खुलाइएको थिएन। पछि पाकिस्तानको क्रिकेट प्रशासकीय निकायले अख्तरलाई दोषी घोषित गर्ने मिडियाको खण्डन गर्दै स्पष्टीकरण जारी गरेको थियो।

४. मखाया एनटिनि

राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने पहिलो दक्षिण अफ्रिकी खेलाडी एनटिनीमाथि पनि बलात्कार आरोप लागेको थियो। सन् १९९९ को सुरुवातमा उनलाई बलात्कारको आरोपमा दोषी ठहर गर्दै कारबाही नै गरियो। पछि उनी सो मुद्दामा निर्दोष ठहरिए। सन् २००९ मा क्रिकेट क्षेत्रबाट रिटायर्ड भएका एनटिनी चर्चित क्रिकेट खेलाडी हुन्।

५. रियान हिन्ड्स

पूर्व वेस्ट इन्डिज क्रिकेटर रियान, २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सन् २०१२ मा कारबाहीमा परेका थिए। यद्यपि, अदालतमा उपस्थित हुनुअघि नै उनको नाममा जमानत निस्कियो। रिपोर्टअनुसार उनको राहदानी जफत गर्ने र हप्तामा एक पटक प्रहरीकहाँ उपस्थित हुनुपर्ने सर्तमा जमानतमा छुटेका थिए।

यद्यपि, सन् २०१४ फेब्रुअरीमा उजुरी गर्ने महिलाले कुनै पनि प्रमाण पेस नगर्ने बताएपछि उनी यौन दुर्व्यवहारको आरोपबाट मुक्त भएका थिए।

६. ल्युक पोमर्सबाक

सन् २०१२ मा अस्ट्रेलियन क्रिकेटर ल्युकले एक महिलालाई नयाँ दिल्लीको एक होटेलमा लगेर बलात्कार गरेको र उनका मंगेतरमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरियो। पासपोर्ट जफ गरी उनलाई पछि जमानतमा छोडिएको थियो।

बलात्कार आरोप लागेको केही समयपछि उनी विरुद्धको अभियोग फिर्ता गरी सो मुद्दा बन्द गरिएको थियो। मदिराको कारण विवादमा आउने क्रिकेटर ल्युक सोही कारण जेल सजायबाट मुक्त बन्ने व्यक्तिको रूपमा समेत चिनिएका थिए।

७. रुबेल हुसेन

सन् २०१५ जनवरी ८ मा चर्चित बङ्गलादेशी क्रिकेटर हुसेन यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका थिए। उनकी पूर्व प्रेमिकाले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। ती १९ वर्षीया युवतीले बिहे गर्छु भनी झुटो आश्वासन देखाउँदै बिहेअघि नै पटक-पटक यौन दुर्व्यवहार गरेको लगाएकी थिइन्। बङ्गलादेशको कानुनअनुसार ती युवतीले लगाएको आरोप साबित भएको थियो। यद्यपि, बलात्कारविरुद्ध कुनै पनि प्रमाण नजुटेपछि सन् २०१५ मा बङ्गलादेशको अदालतले रुबेलविरुद्धको मुद्दा खारेज गरेको थियो।

८. इयान किंग

क्विन्सल्याण्ड राज्यका क्रिकेटर इमानमाथि लागेको बलात्कारको मुद्दा अन्यभन्दा फरक छ। बालिका बलात्कारको अभियोगमा उनलाई सन् २०१२ मा त्यहाँको सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो। उनीमाथि झन्डै दुई दशकअघिदेखि २० भन्दा बढी बाल यौन दुराचारको आरोप लागेको थियो। सो आरोपमा किंग सन् २००८ मा पक्राउ परेका थिए।

उनले आफ्नो टिममा खेल्ने पाँच बालक र पाँच बालिकामाथि यौन दुराचार गरेको मुद्दा दर्ता भएको थियो । जसमध्ये एउटा मुद्दाको उनले आजीवन कारावास सजाय भोग्नुपर्ने उल्लेख गरिएको थियो।

९. उदय जोशी

सन् २०१२ मार्च उदय जोशीले झन्डै ३० वर्षअघि एक बालकलाई बलात्कार गरेको आरोप लागेको थियो। सो समयमा ती बालक १३ वर्षको भएको पिडकले बयान दिएका थिए। ६९ वर्षीय जोशी सो मुद्दामा दोषी ठहर भएका थिए भने उनले ६ वर्ष लामो जेल सजायसमेत भोगेका थिए।

१० सन्दीप लामिछाने

अब यह सूचीमा मङ्गलवारबाट सन्दीप पनि थपिएका छन्। राष्ट्रिय टोली हुँदै अन्तर्राष्ट्रिय क्लबहरूमा आबद्ध भएका उनी विरुद्ध मङ्गलवार एक १७ वर्षिया किशोरीले बलात्कारको आरोपमा जाहेरी दर्ता गरिन्। प्रहरी यो घटनाको प्रारम्भिक अनुसन्धानको चरणमा छ।

-एजेन्सीको सहयोगमा

भदौ २२, २०७९ बुधबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।