यसरी गर्न सकिन्छ डेंगु ज्वरोकाे घरेलु उपचार

यसरी गर्न सकिन्छ डेंगु ज्वरोकाे घरेलु उपचार

डेंगु ज्वरो Dengue virus-DENV को कारणबाट आउँछ। यो भाइरसबाट संक्रमित भएका विरामीलाई एडिस एजेप्टी नामक पोथी लामखुट्टेले टोकेर अर्को स्वस्थ व्यक्तिलाई टोक्न पुगेमा डेंगु ज्वरो सर्ने गर्छ।

यो लामखुट्टेले रातमा भन्दा दिनमा अति सक्रियताका साथ धेरै जनामा छिटो-छिटो टोक्ने गर्दछ। डेंगु ज्वरो आउँदा शरीरको हड्डी भाचिएझैँ दुख्ने भएकाले यसलाई ब्रेक बोन फिभर पनि भनिन्छ। यस्तै यसलाई एल्लो फिभरको नामले पनि चिनिन्छ। यस्ता ज्वरो आएका विरामीको प्रयोगशाला परीक्षण गर्दा रगतमा  प्लेटिलेट को कम हुन्छ।

साधारण लक्षण:
आँखाको गेडीको भित्री भागम तीव्र पीडासहित टाउको दुख्नु यसको मुख्य लक्षण हो।यो अवस्थामा १०३ देखि १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आउने गर्छ भने बारम्बार वान्ता हुन्छ।

यस्तै, हाडजोर्नी दुख्ने, शरीरमा थकान महसुस हुने, खाना खान मन नलाग्ने, पटक-पटक पातलो दिसासहित झाडा पखाला हुने, छालामा स-साना विमिरासहित डाबरहरू देखा पर्ने तथा रक्तचाप कम हुने जस्ता लक्षण पनि डेंगु हुँदा देखिन्छ।

जटिलजन्य लक्षणः
बान्तामा रगत देखा पर्नु, विरामी वेचैन हुनेगरी पेटमा दुख्नु, अधिक थकान हुनु, रक्तचापमा एक्कासी घट्नु, नाथ्री फुटेर रगत बग्नु, गिजाबाट रक्तश्राव हुनु वा पिसावमा रगत देखा पर्नु डेंगु ज्वरोका जटिल लक्षण हुन्।

अधिक ज्वरो रहि रहनु, सात दिनसम्म एकदमै धेरै टाउको दुख्नु, छातिको दाहिने भागमुनि दुख्नु, कलेजो सुन्निनु, ज्वरोकै कारण विरामी मुर्छा पर्नु, प्लेटिलेटको  मात्रा तीव्र गिरावट आउनु पनि यसका लक्षणहरू हुन्।

कठिन वा जटिलजन्य लक्षण देखा परेमा नजिकको हस्पिटलमा लगि अतिरिक्त निगरानीमा उपचार गर्नु उपयुक्त हुन्छ।

उपचार:
डेंगु ज्वरो भाइरल भएकाले यसको कुनै तोकिएको औषधि छैन।लक्षण अनुसार नै यसको उपचार हुने गर्छ। यो रोग लाग्दा रगतमा प्लेटिलेटको संख्यामा तीव्र गिरावट आउने भएकाले उक्त प्लेटिलेटका अभिवृध्दि गर्न सहयोग पुर्याउने जडिवुटी, साग-सब्जी, वा मसलाको सेवन हितकर मानिन्छ।

विरामीको सामान्य अवस्थामा अथवा रोग जटिलतातर्फ नजाओस् भन्नका लागि नरिवलको पानी, मेवाको पात, अनार, मेथी, बेसार, सुन्तला, ब्रोकाउली, पालुङ्गो, कीवी, स्याउको जुस, घिउकुमारीजस्ता जडिबुटीयुक्त सामग्रीबाट घरेलु वा आयुर्वेदीय उपचार गर्न सकिन्छ।

नरिवलको पानी:
डेंगुमा वान्ता, झाडापखाला, अधिक पसिना  निस्कँदा जलविनियोजन हुन्छ।नरिवलको  पानीमा प्रसस्त पोषक तत्व तथा पुनर्जलीय तत्व पाइने भएकाले पुनरजलीय उपचार तथा पोषण तत्व पूर्ण गराउन सेवन गराइन्छ।नरिवलको पानी आधा चिया गिलासदेखि १ चिया गिलासम्म दिनमा २ पटक पिउँदा उचित हुन्छ।

मेवाको पात:
मेवाको पातमा पपैन र काइमोपपैन नामक इन्जाइम हुने भएकाले सजिलैसँग खाना पचाउन मद्धत गर्छ। पेट फुलेको सुन्निएको पनि यसले कम गर्छ। रगतमा प्लेटिलेटको मात्रा बढाउने भएकाले मेवाको पात पिनेर त्यसबाट निकालिएको  सोरस (रस) खाली पेटमा दैनिक १० देखि ३० मिलिलिटरसम्म दुईपटक पिउनुपर्छ।

अनार:
यसमा सबै प्रकारका पोषक तत्व र मिनरल्सहरू पाइन्छन्। जसले शरीरमा शक्ति दिने, थकाई कम गर्ने र रगत बढाउने काम गर्दछ। प्लेटिलेटका पनि पनि बढाउँछ। यसको जुस विरामीको उमेर र अवस्थानुसार चिया गिलासले आधागिलासदेखि एक गिलाससम्म दिनको २ वा ३ पटकसम्म दिन सकिन्छ।

मेथी:
मेथी ज्वरो,जीउ तथा टाउको दुखाई कम गर्न उत्तम मानिन्छ।यसको हरियो सागको सुप बनाएर खुवाइन्छ। सुकेको दाना पाँच देखि १० ग्राम १ चिया गिलास पिउने पानीमा बेलुकीपख छोड्ने र रातभरि भिजाएर विहान छानेर रस पिउनुपर्छ। सुकेको दानाको पाउडर आधादेखि एक चिया चम्चा विहान बेलुकी खानापछि खाँदा पनि फाइदा गर्छ।

बेसार:
यसलाई एन्टिअक्सिडेन्ट र मेटाबोलिजम बुस्टर मानिने भएकाले यसको प्रयोग धेरै नै प्रभावकारी हुन्छ। विहान बेलुका खानापछि आधा चियाचम्चा बेसार मनतातो दूधसँग पिउनु फाइदाजनक हुन्छ।

सुन्तला:
एन्टिअक्सिडेन्ट र भिटामिन 'सी'को राम्रो स्रोत सुन्तलाको जुस एक गिलास विहान र बेलुकी खाना खाएको २ घण्टापछि २ पटक हरेक दिन वा हरेक दिन दिउँसो १ पटक मात्र पनि दिन सकिन्छ।

ब्रोकाउली:
भिटामिन 'के', एन्टिअक्सिडेन्ट र  विभिन्न पोषण तत्वले भरिपूर्ण यसले प्लेटिलेट र रगत बनाउन मद्दत गर्छ। यसलाई ताजा रूपमा नै एक्लै वा मिक्स भेजको सुप बनाएर खान सकिन्छ।तयारी सुप चिया गिलासको एक गिलाससम्म दिनमा २-३ पटकसम्म सेवन गराउन सकिन्छ।

पालुङ्गो:
आइरन, ‌ओमेगा-३ र फ्याट्टी एसिड भरपुर पाइने पालुङ्गोले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउनुका साथै प्लेटिलेटको संख्या पनि बढाउँछ।ताजा मिक्स वा एकल भेज सुपको रूपमा विहान र बेलुका एक चिया गिलाससम्म दिनमा २ वा ३ पटक यो सेवन गर्न सकिन्छ।

कीवी:
भिटामिन 'ए' र 'ई' प्रशस्त पाइने भएकाले यसले शरीरलाई सन्तुलित राख्दछ।उच्च रक्तचापलाई नियन्त्रणमा राख्छ। कीवीमा तामाको मात्रा बढि पाइने भएकोले रगतमा रातो रक्तकोशिकाको संख्या उल्लेखनीय रूपमा बढाउँछ। प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ।५० देखि १०० ग्रामसम्म दिनमा दुईपटक विरामीले खानुपर्छ।

स्याउको जुस:
रक्तअल्पत्ता र प्लेटिलेटको संख्या वृद्धि गर्नका लागि दिनमा दुई वा तीनपटक एक गिलास स्याउको ताजा जुस पिउनु फाइदाजनक ठानिन्छ। 
  
घिउकुमारी:
यसले पनि प्लेटिलेटको संख्या वृध्दि गर्नुका साथै पाचन प्रणालीमा सुधार गर्छ। एन्टिअक्सिडेन्ट गुण भएकाले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ।घिउकुमारीको गुदी ५ देखि १० ग्राम दिनमा दुईपटकसम्म खाली पेटमा खानुपर्छ।

अन्य जडिबुटी:
गुर्जोको डाँठ १ अंगुल, नीमको पाँचवटा पात, तुलसीको पाँचवटा पात, आधा ग्राम सुठो, १५ मिलिलिटर गहुँको जमराको रस मिलाएर काँडापानी वा चियाजस्तो रूपमा उमालेर पकाएर दिनमा दुईपटक एक चिया गिलास पिउनु राम्रो मानिन्छ।

मेवाको वीऊ, लसुन, अमलाको पनि आवश्यकतानुसार सुप आदि बनाएर प्रयोग गर्ने, सामान्य व्यायाम गर्ने, गुडुच्यादिक्वाथ, सुदर्शनचूर्ण. गोदन्ति भष्म, वासावलेह, त्रिभुवनकिर्ती रस, संजिवनी वटी, शुतशेखर रस, पद्मकादि तेल, चन्दन तेल, नरिवल तेल आदि औषधिहरू चिकित्सकको परामर्श लिएर सेवन गर्नु उचित हुन्छ।

के खान हुने र के खान नहुने?
यो रोग लाग्दा सजिलैसँग पच्न सक्ने र छिटो तागत दिने खाना खानुपर्छ। मुंगको दाल र चामल सहित गीलो जाउलो खानु उपयुक्त हुन्छ।  पालुङ्गो, मेथीको साग, ब्रोकाउली, चुकन्दर, गाँजर, हरियो लसुनको साग, परवर, बेथेको साग आदिमध्ये उपलब्ध भएसम्म सबै नभए जति सकिन्छ दुई वा सो भन्दा बढि मिलाएर सूप बनाएर दिनमा दुईपव पटक खानु राम्रो मानिन्छ।

मदिराजन्य पेय पदार्थ, माछामासु, चिसो कोलाहरू र अमिलो पदार्थ खान हुँदैन। यो रोगमा पाचनशक्ती कमजोर हुने भएकाले दूध र दूधबाट बनेका खानाका परिकार खानु हुँदैन। तर, बाख्राको दूध भने राम्रो मानिन्छ। उमालेको अण्डाको सेतो भाग भने खान मिल्छ।धेरै गरम मसालेदार, तारेको, भुटेको, फ्राई गरेको, चिल्लो, पीरो, धेरै नुनीलो तरकारी-सब्जी, सुप खानुहुँदैन। भुटेको वा फ्राई गरेको भात तथा खीर पनि विरामीलाई खान दिनु हुँदैन|

चिकित्सकको सल्लाह-परामर्श अनुसार भिटामिनहरू दिनु राम्रो हुन्छ। ज्वरोमा पारासिटामोल गोदन्ति भष्म, सुदर्सन चुर्ण, गुडुच्यादी क्वाथ बाहेक अन्य दुखाइ कम गर्ने औषधी दिनुहुँदैन।

(सिंहदरवार वैद्यखानाको पूर्व प्रवन्ध निर्देशक भइसक्नुभएका खरेल आयुर्वेद विभागको वरिष्ठ आयुर्वेद चिकित्सक हुनुहुन्छ।) 

भदौ २२, २०७९ बुधबार १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।