इन्द्रजात्रा सांस्कृतिक पर्यटनको प्रमुख आकर्षण : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनको लागि प्रमुख आकर्षण रहेको बताएका छन्।
काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा सुरुवातको अवसरमा बुधबार हनुमानढोका पुगेका मन्त्री श्रेष्ठले इन्द्रजात्रासँगै यहाँका अनगन्ती मूर्त-अर्मूत संस्कृति र सम्पदाहरूको प्रचार–प्रसारबाट पर्यटकलाई आकर्षण गर्न सकिने बताए।
मुलुकको सांस्कृतिक धरोहरको रूपमा रहेको इन्द्रजात्राको काठमाडौं उपत्यकामा मनाइने अन्य जात्रा र चाडपर्वमध्ये विशिष्ट स्थान रहेकाे उनले बताए।
नेपालका विभिन्न जातजातिका संस्कृति, संस्कार, परम्परा, जीवनशैली पर्यटक लोभ्याउने खालका रहेको बताउँदै मन्त्री श्रेष्ठले संस्कृति र सम्पदाहरूलाई पर्यटनसँग जोडेर स्थानीय जनताको जीवनस्तर उकास्ने आफ्नो कार्ययोजना रहेको बताए।
काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजाको लिंगाे ठड्याएपछि इन्द्रजात्रा सुरु भएकाे छ। आठ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन एवं विभिन्न देवी देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने गरिन्छ।
भदौ २२, २०७९ बुधबार ११:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।