चितवन र कपिलवस्तुमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, दुई जना घाइते

चितवन र कपिलवस्तुमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, दुई जना घाइते

काठमाडाैं : चितवन र कपिलवस्तुमा भएकाे छुट्टा-छुट्टै दुर्घटनामा दुई जनाकाे मृत्यु भएकाे छ। दुई जना घाइते भएका छन्।

चितवनको राप्ती नगरपालिका ९ पिङटोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हाे।

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ४२ वर्षीय प्रेम तामाङ र पछाडि सवार स्थानीय ४६ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएकाेमा उपचारकाे क्रममा चितवन मेडिकल कलेजमा चालक प्रेमको राति साढे ११ बजे मृत्यु भएको हो।

गएराति ११ बजे प्रेमले चलाएको ना ४६ प ३७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको साईडमा रहेको पोलमा ठक्कर खाएको ईलाका प्रहरी कार्यालय,भण्डाराले जनाएकाे छ।

यस्तै,कपिलवस्तुको बुद्धभुमी नगरपालिका-२ पानीधारामा चौपायासँग मोटरसाइकल ठोकिँदा चालकको मृत्यु भएकाे छ। मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका-१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन्।

मंगलबार साँझ सवा ७ बजे पूर्व पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुर्घटना भएको हाे। दुर्घटनामा घाइते भएका पुष्कलको ४ नम्बर सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे।

मोटरसाइकलमा पछाडि सवार उनकै ४८ वर्षीया भाउजू राधा भट्टराईकाे सोहि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, गोरुसिंगेले जनाएको छ।

भदौ २२, २०७९ बुधबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।