पल शाह प्रकरणमा अदालतले 'प्रेगनेन्ट भएको भए' भन्ने अडियो स्विकार्यो तर बलात्कार स्विकारेन

काठमाडौँ : नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले बलात्कार गरेको प्रमाणबाट पुष्टि नभएको भन्दै जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगमा दोषी ठहर गर्यो।
अदालतले हचुवाको तालमा बलात्कारको मागवादी लिएको व्याख्या गरे पनि दुबैबिच सम्बन्ध भएकोबारे भएको कुराकानीको अडियोलाई प्रमाण मानेर बाल यौन दुरुपयोग भने भएको ठहर गरेको छ।
फैसलाको राय पुस्तिकामा 'मिसिल संलग्न प्रतिवादीको मौका र अदालतको बयान, पीडित स्वयंले जाहेरी ब्यहोरा खण्डित हुने गरी अदालतमा उपस्थित भई गरेको बकपत्र, घटना विवरण कागज गर्न व्यक्तिहरू र मौकामा कागज गर्ने अन्य व्यक्तिहरूले यी प्रतिवादीले जबरजस्ती करणी गरेको भनी लेखाउन नसकेको भनिएको छ।
'मिसिलभन्दा बाहिर गई अनुमानको आधारमा करणी लिनु दिनु भएको भनी तथ्य र मिसिलमा आधारित नभई प्रतिवादी उपर कसुर ठहर गर्न मिल्ने देखिँदैन' फैसला राय पुस्तिकामा लेखिएको छ।
रायमा गम्भीर आरोपमा हल्का रूपमा लिई वस्तुनिष्ठ प्रमाण र आधार बिना नै नै अभियोग पत्र दायर गर्न आएको देखिएको भन्दै उनलाई बलात्कारको अभियोगमा सफाइ दिएको छ।
अदालतले प्रमाणको रूपमा स्वीकार गरेको अडियोमा दुबैबिच सहमतिमा सम्बन्ध भएको र गर्लफ्रेन्ड र ब्वाइफ्रेण्डविच यस्तो हुनु सामान्य रहेको भनेको सुनिन्छ।
फैसलाको संक्षिप्त ब्यहोरा अनुसार सो आवाज पल शाहको भएको अदालतले स्वीकार गरेको छ र बाल यौन दुरुपयोगलाई प्रमाणित गर्न सोही अडियोलाई आधार बनाएको देखिन्छ।
बाल यौन दुरुपयोग गरेको ठहर गर्दा इजलासले भनेको छ' नाबालिका उपर गरिएको संवाद गतिविधिसमेतलाई हेर्दा प्रतिवादीले मुलुकी अपराध संहिता मुलुकी अपराध संहिता को दफा २२५(२) मा उल्लेखित अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार पीडित उपर यी प्रतिवादीले गरेको देखियो।'
फैसलामा शाह घटनाको समयमा घटनास्थलमा रहेको स्वीकार गरेको, सो समयमा रक्सी सेवन गरेको समेत स्वीकार गरेको र पेस भएको अडियो क्लिपमा रहेको संवाद एवं स्वर आफ्नो रहेको स्वीकार गरेको उल्लेख छ।
गायन एवं अभिनयको क्षेत्रमा छट्टै पहिचान बनाएकी अर्को एक प्रतिभावान् बाल कलाकारले आफ्नो भविष्य समेतलाई दाउमा राखेर लगाएका आरोपलाई सामान्य रूपमा हेर्न नहुने व्याख्या समेत गरेको छ।
पलले आफ्नो स्वर रहेको भनेर स्वीकार गरेको अडियोमा 'मेरो कारणले प्रेगनेन्ट भएको भए, बच्चा भएको भए यो कुरा गर्न सुहाउँछ। तर गर्लफ्रेन्ड-बोइफ्रेन्डमा समझदारीमा भयो। यति अन्डरस्ट्याडिङ हुँदा पनि स्विकार्नै पर्छ भन्ने हुँदैन' भनेका छन्।
यसलाई अदालतले बलात्कारको प्रमाणको रूपमा स्वीकार गरेन।
पलले आफ्नो फेसबुकमा सार्वजनिक गरेको अडियोमा नाबालिग र अन्यबिच पललाई मेसेज पठाउन भएको छलफलमा ' पोखरामा रिलेसन राखेपछि' भनिएको छ।
अदालतले यसलाई प्रमाणको रूपमा लिएको/नलिएको खुलेको छैन।
'एउटा नायक रही फिल्मी क्षेत्र, अभिनयको क्षेत्रमा स्थापित रहेको कलाकारले नवबालिकासँग कस्तो व्यवहार गर्नुपर्छ ? उनीहरूको बाल मस्तिष्कले के सोचेको हुन्छ? र आफू प्रति कोही नजिक र आफ्नो पब्लिक फिगरको कारणले फ्यान बन्न खोज्यो भन्दैमा आफ्नो रिल लाइफ वास्तविक जीवनमा गलत प्रयोग गर्न हुँदैन,' फैसला पुस्तिकामा लेखिएको छ।
अभिभावकीय कर्तव्य वहन गर्नु
अदालतले नाबालिगको अभिभावकले अभिभावकिय भूमिका पुरा नगर्दा उनी यौन दुर्व्यवहारसम्मको घटनामा परेको भन्दै सचेत गराएको छ।
फैसलामा ' उमेर नपुगेको आफ्नो नाबालक छोरीलाई गायन र अभिनय क्षेत्रमा आफ्नो अभिभावकीय जिम्मेवारी पुरा नगरी एक्लै छोडेको, आफूले पुरा गर्नुपर्ने अभिभावकिय कर्तव्यबाट च्युत रहेको कारणबाट एउटा प्रतिभावान् बाल कलाकार माथि यौन दुर्व्यवहारसम्मको हिंसा पर्न गएको' भनिएको छ।
'जाहेरवालालाई आगामी दिनहरूमा आफ्नो अभिभावकीय कर्तव्य वहन गर्न र नाबालक छोरीलाई आफ्नो पूर्ण संरक्षणमा राख्नको लागि यसै फैसलाबाट सचेत गराइन्छ,' फैसलामा लेखिएको छ।
संवेदनशील विषयमा मिडिया ट्रायल नगर्नु
अदालतले यो केसमा मिडियालाई पनि सचेत गराएको छ। गोपनीयता कायम गर्नुपर्ने कसुर अपराधमा समेत मिडिया ट्रायल गर्ने, आफ्नो न्युजमा भ्यूज बढाउनको लागि संवेदनशीलतालाई बेवास्ता गरी समाचार सम्प्रेषण गरी आफू खुसी सत्य तथ्यभन्दा बाहिर गई समाचारहरू बनाउँदा र सम्प्रेषण गर्दा यसले समाजमा एउटा नकारात्मक सन्देश प्रवाह हुन गएको फैसलामा उल्लेख छ।
'सम्पूर्ण मिडिया क्षेत्रलाई विषयवस्तुको संवेदनशीलतालाई विचार गरेर मात्रै वास्तविक समाचार सम्प्रेषण गर्न र नागरिकको सूचनाको हकलाई सम्मान गर्न सचेत गराइन्छ,'फैसलामा उल्लेख छ।
भदौ २१, २०७९ मंगलबार २३:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।