सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको बताएका छन्।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम)ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन-२०२२ लाई सम्बाेधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले सन् २०२३ देखि २०३३ को दशकलाई ‘नेपाल भ्रमण दशक’को रूपमा मनाउन आवश्यक तयारी अगाडि बढाएको बताए।
पर्यटक आगमन बढाउन तथा पर्यटन उद्योगको विकासका लागि भ्रमण दशकको अवधारणा ल्याइएको मन्त्री श्रेष्ठको भनाइ छ। पर्यटन क्षेत्रको दिगो विकासका लागि भ्रमण वर्षभन्दा भ्रमण दशक आवश्यक भएकोले भ्रमण दशक कार्यक्रमलाई अघि सारिएको उनले बताए।
पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गुणस्तरीय सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए। न्याथमले गुणस्तरीय सेवा प्रदान गरी सरकारी शैक्षिक संस्थाका रूपमा नमूना प्रस्तुत गरेको मन्त्री श्रेष्ठले बताए।
पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताउनुहुँदै उहाँले पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी शिक्षालाई स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिए।
भदौ २१, २०७९ मंगलबार १८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।