अबको १० वर्षमा नेपाललाई दक्षिण एसियाकै धनी राष्ट्र बनाउन काम गरिरहेको सञ्चारमन्त्री कार्कीको दावी

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अबको १० वर्षमा नेपाललाई दक्षिण एसियाकै धनी राष्ट्र बनाउन काम गरिरहेको बताएका छन्। नेपाल प्रेस युनियन केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन्।
निर्वाचनको प्रसङ्गमा बोलिरहेका मन्त्री कार्कीले अबको १० वर्षमा नेपाललाई सम्पन्न, समृद्ध र सभ्य बनाउन तथा दक्षिण एसियाकै धनी राष्ट्र बनाउन आफूहरूले काम गरिरहेको उल्लेख गरेका थिए।
यस्तै मङ्सिर ४ गते स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको पनि मन्त्री कार्कीको भनाइ थियो।
उनले निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताए। गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषय सकारात्मकरूपमा अघि बढेको र छिट्टै टुङ्गोमा पुग्ने पनि बताए।
देशलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको उल्लेख गर्दै मन्त्री कार्कीले हिजो संविधान र लोकतन्त्र जोगाउनकै लागि गठबन्धन बनेको बताए।
“गठबन्धन दलहरूको सिद्धान्त फरक छ। तर मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितका पक्षमा हाम्रो धारणा साझा छ। गठबन्धन कसैका विरुद्ध बनेको होइन”, उनले भने।
भदौ २१, २०७९ मंगलबार १३:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।