कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. साहले बाल हिंसा गरेको आरोप, पक्राउ पुर्जी जारी

काठमाडौं: जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ। डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय जुम्लाले जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धानका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको अदालतका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिए।
एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा यूकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका ६ वर्षीय बालकको उपचारमा डा. साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमाले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी हुन्।
“बाल हिंसाको आरोपमा प्रहरीमा डा. साहविरुद्धमा जाहेरी पर्यो र त्यसको अनुसन्धान गर्न प्रहीले अदालतसँग पक्राउ अनुमति माग्यो”, श्रेस्तेदार रेग्मीले भने, “प्रहरीले त्यसअनुसार अदालतले अनुसन्धान प्रयोजनका लागि फुक्का अनुमति दिएको हो।”
यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा ‘ड्युटी’मा रहेका बेला डा. साहले उपचार नगरेको र बालकलाई उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसूर भएको व्यहोरा उल्लेख गर्दै प्रहरीमा जाहेरी दरखास्त परेको थियो।
यसपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ। डा. साह जलेश्वर नगरपालिका–५ महोत्तरी जिल्ला निवासी हुन्।
भदौ २१, २०७९ मंगलबार ०७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।