भक्तपुर-२ मा महेश बस्नेतलाई टक्कर दिन माओवादीले अगाडि सार्यो दीपशिखालाई

काठमाडौँ : माओवादी केन्द्रले भक्तपुरका लागि गरेको सिफारिस अनुसार गठबन्धनमा सिट पाएमा भक्तपुर २ मा यूथ फोर्स र वाइसिएलका इन्चार्जबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
माओवादी खुल्ला राजनीतिमा आएसँगै देशभर माओवादीको योङ कम्युनिस्ट लिगको नाममा समानान्तर सरकार चलाउने अभ्यास भएको थियो। वाइसियलको प्रतिकारका लागि एमालेले युथफोर्स गठन गरेको थियो। महेश बस्नेत युथफोर्सका इन्चार्ज थिए। उता रामप्रसाद दाहाल दीपशिखा वाइसियलमा संलग्न थिए।
एमालेले भक्तपुर २ मा प्रतिनिधि सभाका लागि बस्नेतको नाम सिफारिस गरिसकेको छ। उनी सो क्षेत्रका वर्तमान सांसद समेत हुन्।
सोमबार बसेको माओवादीको जिल्ला समन्वय समितिको बैठकले भक्तपुर–२ बाट वाईसीएल इन्चार्ज ‘दीपशिखा’लाई एकल रूपमा सिफारिस गरेको छ।
एमाले-माओवादीको गठबन्धनबाट सांसद बनेका बस्नेतले आफ्नो क्षेत्रमा सडक लगायतका विकासका काम लगेकाले गठबन्धन भए पनि उनी बलियो प्रतिस्पर्धी हुन् त्यहाँ।
अर्को भक्तपुर १ मा नेमकिपालाई पराजित गर्न कठिन भएकाले कांग्रेसले समेत २ मा दाबी गर्ने पक्का छ। तर माओवादीले क्षेत्र नम्बर २ मा दीपशिखाको नाम एकल रूपमा सिफारिस गरेर गठबन्धनमा सो क्षेत्र नछाड्ने सन्देश दिएको छ। दीपशिखा माओवादीभित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेताका रूपमा परिचित छन्। उनी प्रचण्डको चुनावी कमान्डरको रूपमा परिचालित हुने गरेका छन्।
भक्तपुर–१ बाट भने माओवादीले सुरेश न्यौपानेको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभा १ को प्रदेशसभा ‘ख’ मा सुनिल गोठे र प्रतिनिधिसभा २ को ख मा दिलीपकुमार प्रजापतिको नाम सिफारिस भएको छ।
भदौ २०, २०७९ सोमबार २२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।