राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताकोत्यस्तै फर्कियो, जारी होला ?

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताकोत्यस्तै फर्कियो, जारी होला ?

काठमाडौँ : राष्ट्रपतिले पुनर्विचार गर्न संसद्मा फिर्ता पठाएको नागरिकता विधेयक दुवै सदनबाट जस्ताको त्यस्तै पास गरेर प्रमाणीकरणका लागि पुन राष्ट्रपति कार्यालय पठाइएको छ।

सोमबार सभामुख अग्नि सापकोटाले विधेयक प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालय पठाइएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित पुनर्विचारका लागि विधेयक फिर्ता गरेकी थिइन्।

तर प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुरानै विधेयक पारित भयो। राष्ट्रपति भण्डारीले विधेयक १४ दिन राखेर साउन २९ मा फिर्ता गरेकी थिइन्।

संवैधानिक प्रावधान अनुसार अबको १५ दिनमा राष्ट्रपतिले विधेयक जारी गर्नुपर्नेछ।

आफूले पुनर्विचार गर्न संसद्मा फिर्ता पठाएको विधेयक जस्ताकोत्यस्तै आए चाल्ने कदमबारे उनले पूर्व सैनिक अधिकारीहरूसँग छलफल समेत गरेकी थिइन्।

यो बिचमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक जस्ताकोत्यस्तै राष्ट्रपति कार्यालय गएमा राष्ट्रपतिले राजीनामा दिन सक्ने सङ्केत गरेपछि देउवाले आफू निकट कांग्रेस नेताहरूलाई सो सन्देश सम्प्रेषण गरेका थिए।

यो बिचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसँग भेट गरेर नागरिकता विधेयकबारे छलफल गरेका थिए।

भदौ २०, २०७९ सोमबार २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।