३५ दिने म्याद सकिँदा पनि टुकुचाको नक्सै फेला पारेन महानगरले

काठमाडौँ : टुकुचा नदी मिचेर बनेका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले जारी गरेको ३५ दिने सूचनाको म्याद नाघिसक्यो। उसले सिटी एक्सप्रेसदेखि जय नेपाल हलसम्म टुकुचा मिचेर बनाइएका भवन र अन्य टहरा हटाउन साउन ११ गते ३५ दिने सूचना जारी गरेको थियो।
पछिल्लो समय महानगरपालिकाले मापदण्डविपरित बनेका अन्य क्षेत्रको संरचना भत्काइरहेको छ। तर यता टुकुचा नदीको अवस्था भने उस्तै छ। सूचनाको म्याद नाघिसक्यो। तर महानगरले नदीमा भएको अतिक्रमण हटाउने तयारीमा छैन।
महानगरका आधिकारिक अधिकारीको भनाई अनुसार उसले अहिलेसम्म नक्सै फेला पार्न सकेको छैन। महानगरका सहायक प्रवक्ता मुकेश कुमार काफ्ले टुकुचाबारे आधिकारिक नक्सा खोजिरहेको बताउँछन्।
‘टुकुचाको नक्सा अझै भेटिएको छैन’ उनले भने, ‘हामीले आधिकारिक नक्सा खोजिरहेका छौ। नापी कार्यालय र भूगर्भ विभागसँग आधिकारिक नक्सा कुन हो चाँडो सार्वजनिक गर्न माग गरेका छौ। त्यहाँबाट नक्सा आउनेवित्तिकै कानुनअनुसार कदम चाल्छौ।’
सो क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र खाली नगरे स्थानीय सरकार सञ्चालन ऐनबमोजिम कारबाही गरिने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख थियो।
टुकुचा क्षेत्रको नदी नै गायब गरेर सो क्षेत्रमा व्यापारिक र आवासीय भवन बनेका छन्। सो क्षेत्रमा ठुला देखि साना व्यापारिक र निजी भवनहरू पर्ने भए पनि महानगरको सूचना अनुसार अहिलेसम्म कसैले अतिक्रमित क्षेत्र खाली भएको छैन। गुगल अर्थबाट हेर्दा पनि सो क्षेत्रमा टुकुचाको नामोनिसान देखिँदैन।
भदौ २०, २०७९ सोमबार २१:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।