देश चलाउने दाबी गर्ने रवीको उटपट्याङले फसे प्रहरी निरीक्षक, सरुवा गरेर कारबाहीका लागि समिति

देश चलाउने दाबी गर्ने रवीको उटपट्याङले फसे प्रहरी निरीक्षक, सरुवा गरेर कारबाहीका लागि समिति

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले प्रहरी हिरासतमा रहेका व्यक्तिसँग भेटेको तस्बिर खिचेर सार्वजनिक गरिदिँदा दरबारमार्ग वृत्तका प्रहरी निरीक्षक विकास तामाङ सङ्कटमा परेका छन्।

प्रहरी हिरासतमा रहेका व्यक्तिको तस्बिर तथा भिडियो खिच्नु गैर कानुनी हो। हिरासतमा रहेका व्यक्तिलाई परिवारका सदस्य र कानुनी सहयोगीबाहेक अन्यले भेट्न पाउँदैनन्। पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा दुर्व्यवहार भयो भनेर प्रहरी हिरासतमा परेका शेरजंग गुरुङलाई सोमबार भेट्न गएका रवीले भेटेनन् मात्र तस्बिर समेत खिच्न लगाएर सामाजिक सञ्जालबाट सार्वजनिक गरिदिए।

उनले फेसबुकमा लेखे ' प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंगजी भन्नुहुन्छ 'गुरुङको छोरो आवाज अलि ठुलो भयो होला तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।' यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।'

उनले यति मात्र लेखेको भए त ठिकै थियो तस्बिर पनि राखे प्रमाणको रूपमा। सार्वजनिक भएको तस्बिरमा दुवै जना सोफामा बसेर कुराकानी गरिरहेको देखिन्छ। एक त हिरासतबाट बाहिर निकालेर असम्बन्धित व्यक्तिसँग कुरा गराउनु त्यसमा पनि तस्बिर खिच्ने अनुमति दिनु।

तस्बिर सार्वजनिक भए लगत्तै प्रहरी परिसर काठमाडौँले प्रहरी निरीक्षण तामाङलाई दरबारमार्गबाट उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्यो। अनि घटनालाई सुरक्षा चुकसँग जोडेर परिसरका एसपी दिनेश मैनालीको संयोजकत्वमा छानबिन समिति समेत गठन गर्यो। समितिलाई दरबारमार्ग वृत्तको हिरासतमा रहेका व्यक्तिलाई हिरासतबाहिर राखेर असम्बन्धित व्यक्तिलाई कसको अनुमतिमा भेट्न दिएको र तस्बिर कसले खिचेको सोबारे प्रतिवेदन पेस गर्न भनिएको छ।

तस्बिरको गुणस्तरहेर्दा भिडियो खिचेर त्यसको तस्बिर निकालेझैँ देखिन्छ।

उता गुरुङलाई भने गृहमन्त्री बालकृष्ण खाँणले प्रक्रिया पुरा गरेर हिरासतमुक्त गर्न काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेका छन्।

भदौ २०, २०७९ सोमबार १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।