पर्यटनमन्त्रीलाई लाइनमा राख्दा हिरासत पुगेका सुरक्षा गार्डलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहा गर्न निर्देशन दिएका छन्। पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा दुर्व्यवहार भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर पाँच दिन म्याद लिएर हिरासतमा राखेको छ।
सोमबार गृहमन्त्री खाँणले काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएको गृहमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। दुर्ब्यवहारको आरोपमा प्रमुख जिल्ला अधिकारीले धरौटी लिएर हिरासतमुक्त गर्न सक्ने कानुनी प्रावधान छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरुङलाई प्रहरीले आइतबार हिरासतमा राखेको छ। भिएसएफमा बायोमेट्रिक लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो।
भदौ २०, २०७९ सोमबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।