हनुमानढोका-स्वयम्भू ‘सम्पदा पदमार्ग’ विश्व पर्यटनकै नमुना बन्छ : पर्यटनमन्त्री श्रेष्ठ

हनुमानढोका-स्वयम्भू ‘सम्पदा पदमार्ग’ विश्व पर्यटनकै नमुना बन्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भूबीच निर्माण हुने सम्पदामार्ग विश्व पर्यटनकै नमुना बन्ने बताएका छन्।

काठमाडौंमा हनुमानढोका–स्वयम्भू सम्पदामार्ग लक्षित गरी पहिलोपटक आयोजना गरिएको स्थानीय पथप्रदर्शक तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले हनुमानढोका-स्वयम्भू जोड्ने ‘सम्पदा पदमार्ग’ आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्ने नमुना गन्तव्यस्थल बन्ने बताए।

विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी पदमार्ग बन्नु विश्व पर्यटनमै दुर्लव संयोग रहेको उनकाे भनाइ छ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालन गरेको हो।

पहिलो चरणमा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदामार्ग क्षेत्रका ३० जना स्थानीय युवाहरूलाई तालिममा सहभागी गराइएको थियो।

स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिममा स्थानीय महत्त्वका विविन्न संरचना र दुर्लभ वास्तुकलाका साथै पदमार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरूबारे जानकारी प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।

पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य समेत अघि बढिसकेको छ। उक्त क्षेत्रमा रहेका परम्परागत नेवाः शैलीका भवन, बौद्ध एवं हिन्दु धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौंको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिने मन्त्री श्रेष्ठले बताए।

विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदाबीचको दुरी २.२ किलोमिटर रहेको छ। पदमार्गमार्फत पर्यटन तथा सम्पदा संरक्षण गर्ने लक्ष्य राखिएको छ।

भदौ २०, २०७९ सोमबार १६:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।