भारतीय सेनाध्यक्षद्वारा सम्मान गारत निरीक्षण, आज राष्ट्रपतिले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने

भारतीय सेनाध्यक्षद्वारा सम्मान गारत निरीक्षण, आज राष्ट्रपतिले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने
तस्बिरहरू: नेपाली सेना

काठमाडौं: भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिने भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान सम्मान गारत अर्पण गरिएको थियो। 

उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपण समेत गरे। यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रधानसेनापति शर्मा र सेनाध्यक्ष पाण्डेबीच अहिले भेटवार्ता भइरहेको छ। केही बेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन्।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार आएका हुन्।

भदौ २०, २०७९ सोमबार १०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।