कलैयामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, धुनिबेंशीमा ट्रकले किच्दा भारतीय नागरिक घाइते

काठमाडौं: बाराको कलैया उपमहानगरपालिका- २३ कोइरिया टोलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना घाइते भएका छन्।
वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना२४प १३९४ नम्बरको मोटरसाइकल गए राति सवा ९ बजे अनियन्त्रित भई पल्टिएको हो। मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय ३२ वर्षीया हजरा खातुन रहेकी छिन्।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
यस्तै धादिङको धुनिबेंशी नगरपालिका- ९ ढलानमा आज बिहानै ट्रकले किच्दा परिचालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा भारतीय नागरिक १७ वर्षिय सञ्जीव गौतम रहेका छन्।
उनलाई उपचारको लागि काठमाडौं ल्याइएको छ। आज बिहानै साढे ३ बजे भारतीय नम्बरको ट्रकले उकालोमा लोड तान्न नसकी पछाडि हट्दा ट्रकमा ओट राख्ने क्रममा परिचालक गौतमलाई किचेको हो।
ट्रकसहित चालक नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोष्ट खत्रीपौवा धादिङले जानकारी दिएको छ।
भदौ २०, २०७९ सोमबार ०९:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।