काभ्रे- २ मा गोकुल बाँस्कोटा सर्वसम्मत सिफारिस, काभ्रे- १ मा नवीना लामाका पाँच प्रतिस्पर्धी

काभ्रे- २ मा गोकुल बाँस्कोटा सर्वसम्मत सिफारिस, काभ्रे- १ मा नवीना लामाका पाँच प्रतिस्पर्धी

काठमाडौं: आउँदो मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन्। यसैक्रममा एमाले काभ्रेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस कार्य टुङ्ग्याएको छ।

जसअनुसार काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा दुई महिलासहित ६ उम्मेदवार सिफारिस भएका छन्। सिफारिस गरिएकामा नवीना लामा, अम्बुभवानी कार्की, चन्द्र लामा, नारायण पाण्डे, कुलचन्द्र अधिकारी र रेशम लामा रहेका छन्। यस निर्वाचन क्षेत्रअन्तर्गत दुई प्रदेश सभा क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकको एमालेले जनाएको छ।

यस्तै, प्रतिनिधि सभा क्षेत्र नं २ का लागि गोकुलप्रसाद बाँस्कोटा सर्वसम्मत एकल उम्मेदवार सिफारिस भएका छन्। यस निर्वाचन क्षेत्रअन्तर्गतका दुई प्रदेश सभा क्षेत्रमा पनि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकेको पार्टी जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिए।

उनका अनुसार आजदेखि प्रतिनिधि सभाका दुई र चार प्रदेश सभा निर्वाचन क्षेत्रमा सामनुपातिकतर्फका उम्मेदवार सिफारिसका लागि छलफल गरिनेछ।

यता माओवादी केन्द्रले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ। उम्मेदवार सिफारिसका लागि पार्टीको क्षेत्रीय तथा जिल्ला कमिटी छलफलमै जुटिरहेकाले भोलि मङ्गलबारसम्ममा दुवै प्रकृतिका सदस्यको उम्मेदवार सिफारिस कार्यसक्ने केन्द्रका जिल्ला समन्वय समिति संयोजक भोला अर्यालले बताए।

काभ्रेमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्र रहेका छन्। जिल्लास्थित नेपाली कांग्रेस र एकीकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम यसअघि नै सिफारिस कार्य टुङ्ग्याइसकेका छन्।

भदौ २०, २०७९ सोमबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।