पाकिस्तानले लियो समूह चरणको हारको बदला, सुपर ४ मा भारत ५ विकेटले पराजित

काठमाडौं: पाकिस्तानले भारतलाई जारी एसिया कपको सुपर ४ को खेलमा हराएको छ। गए राति सम्पन्न खेलमा पाकिस्तानले भारतमाथि ५ विकेटको जित हात पारेको हो।
यसअघि भारत र पाकिस्तान समूह चरणमा भिडेका थिए। त्यसबेला भारतले पाकिस्तानलाई पनि ५ विकेटले नै हराएको थियो।
गए राति भएको खेलमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो।
भारतका लागि हिजोको खेलमा स्टार खेलाडी विराट कोहली चम्किए। उनले ६० रनको पारी खेले। तर उनको पारीले भारतलाई उच्च स्कोर बनाउन मात्र सहयोग गर्यो। १९औं ओभरमा भुवनेश्वर कुमारको बलमा पाकिस्तानका आसिफ अलीले १९ रन जोडेर पाकिस्तानलाई जित नजिक पर्याए।
पाकिस्तानको तर्फबाट मोहम्मद रिजवानले ७१ रनको शानदार पारी खेले। उनलाई मोहम्मद नवाजले ४२ रन बनाएर साथ दिए। नवाज प्लेयर अफ द म्याच पनि भए।
पाकिस्तानको यो जितले आठ वर्षयताको खडेरी तोडिएको छ। भारतलाई आठ वर्षदेखि पाकिस्तानले एसिया कपमा हराउन सकेको थिएन।
भदौ २०, २०७९ सोमबार ०७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।