बुटवलका पसलमा भेटिए खानै नहुने मासु, जफत र सचेत गराए पनि उस्तै समस्या

बुटवल : बुटवल उपमहानगरपालिका होस वा वाणिज्य कार्यालय, बजार अनुगमनका क्रममा सधैँ निशामा पर्छ बुटवल बसपार्कको कुरैशी मासु पसल र ताहिर मासु पसल, माइला मासु पसल। जति पटक अनुगमनमा पुगे पनि यी पसलमा सुधार देखिँदैन। जहिल्यै यहाँबाट कुहिएको मासु बरामद भएपछि अनुगमन टोलीले जफत गर्छ। अनुगमन टोलीले कहिले जरिवाना त कहिले सुधार गर्न भन्दै निर्देशन दिन्छ।
रामनगरमा रहेको नेपाल आर्मीको ब्यारेकलाई मासु दिने कुरैशीले दैनिक १० वटा खसिबोका काट्छ। पटक–पटक अनुगमन टोलीले सच्चिन आग्रह गर्दा पनि यसका सञ्चालकले पसलको सुधारमा खासै चासो दिएको देखिँदैन।
नजिकिँदै गइरहेको चाडपर्वमा सबैभन्दा बढी उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहीन वस्तुहरूको बिक्रीबितरण रोक्न भन्दै आइतबार पनि बुटवल उपमहानगरपालिकाले बुटवलका विभिन्न क्षेत्रका मासु पसलहरूमा अनुगमन गर्यो।
अनुगमनका क्रममा त्यही कुरैशी मासु पसलबाट यस पटक पनि अखाद्य मासु फेला पर्यो। अनुगमन टोलीले त्यहाँ बाट १० वटा खसीका टाउका जफत गरी नष्ट गर्यो।
कुरैशी मात्र होइन, स्माइली मासु पसल तथा देविनगरमा रहेको श्रेष्ठ मासु पसलबाट अखाद्य मासु फेला पारी जफत गरेको थियो। यी मासु पसलबाट २२ किलोभन्दा बढी अखाद्य मासु फेला पारेर नष्ट गरिएको बुटवल उपमहानगरका वरिष्ठ अधिकृत ठगिश्वर शर्माले जानकारी दिए।
वधशाला तथा मासु पसलमा सरसफाइ नभएको भन्दै निर्देशन दिइएको उनको भनाई छ। बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा गरिएको अनुगमनमा बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगर लगायतका क्षेत्रमा सञ्चालनमा रहेका ११ मासु पसलमा गरिएको अनुगमन गरिएको थियो।
‘स्वच्छ मासु खान पाउनुपर्ने उपभोक्ताको अधिकार हो। त्यसकारण हामीले अनुगमन जारी राखेका हौ। यो अनुगमन चाडपर्व लक्षित मात्र होइन सधैँ भरि रहिरहनेछ’ उपप्रमुख अर्यालले भनिन्।
अनुगमनका क्रममा बुटवलको इँटाभट्टीको कुरैशी मासु पसल र देविनगरमा रहेका दिनेश फ्रेस हाउस र नमस्ते गाउँले मासु पसलले सडक क्षेत्रमा सडकमा वधशाला बनाएको पाइएको उनले बताईन। त्यस्तै तीनकुनेमा रहेका निमेष मासु पसलको वधशाला निकै फोहोर पाइएकाले सुधार गर्न मौका दिइएको उनको भनाई छ।
कतिपय मासु पसलले मासुलाई तापक्रम व्यवस्थापन गरी राख्नुपर्ने भए पनि त्यो अनुसार नपाइएको थप प्रक्रियाको लागि बुटवल उपमहानगर बोलाइएको बुटवल उपमहानगरपालिकाका पशु चिकित्सक झबिन्द्र बन्जाडेले बताए। उनले मासुलाई उचित तापक्रम मिलाएर राख्न सकिने भए पनि त्यसको ज्ञानको अभावमा फ्रिजमा राख्दा अन्य रोगहरू समेत लाग्ने डर हुने बताए।
उपभोक्ता हित संरक्षण मञ्च बुटवल उपमहानगर अध्यक्ष समुन्द्र जिसीले चाडपर्वमा हुने अखाद्य बस्तुको बेचबिखन हुनसक्ने भएकोले अनुगमन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तर र गोप्य तरिकाले गर्नुपर्ने बताए।
भदौ १९, २०७९ आइतबार २३:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।