काठमाडौँका सात क्यासिनोलाई मनोरञ्जन कर बुझाउन महानगरको पत्र

काठमाडौँ : काठमाडौँ महानगरपालिका भित्र सञ्चालनमा रहेका सात क्यासिनोलाई मनोरञ्जन कर तिर्न काठमाडौँ महानगरले सात दिने अल्टिमेटम दिएको छ। महानगरको राजश्व विभागले सात वटा क्यासिनोलाई तिर्न बाँकी कर बुझाउन पत्र पठाएको हो।
म्यारियट, अन्नपूर्ण, र्याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्ल होटेलमा रहेका क्यासिनोलाई कर तिर्न महानगरले आइतबार म्यादसहितको पत्र पठाइएको हो।
पत्रमा आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म कर नबुझाए भन्दै प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिबानासमेत बुझाउन भनिएको छ।
पत्रमा पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र काठमाडौँ महानगरपालिका राजस्व विभाग बबरमहलमा कर बुझाउन र कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह बाँकी कर असुलउपर गरिने चेतावनी दिइएको छ।
महानगरले यस अगाडि भृकुटीमण्डपमा रहेको काठमाडौँ फन पार्कलाई २४ घन्टे म्याद दिएर १७ लाख कर उठाएको थियो।
भदौ १९, २०७९ आइतबार १७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।