पर्यटनमन्त्री श्रेष्ठको दम्भ : पुरस्कृत गर्नुपर्ने गार्डलाई प्रहरी लगाएर पक्राउ गराए

काठमाडौँ : आफू मन्त्री भएकैले लाइनमा नबसी निजी कम्पनीबाट काम गराउन नपाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले छायाँ सेन्टरमा रहेको भिसा कन्सल्टेन्सीमा कार्यरत सुरक्षा गार्डलाई पक्राउ गर्न लगाएका छन्।
छायाँ सेन्टरमा रहेको भीएफएस ग्लोबल भिसा सेन्टरमा श्रीमतीसहित क्यानडाको भिसाका लागि गएका उनलाई त्यहाँ खटिएको निजी कम्पनीको सुरक्षा गार्डले लाइनमा बस्नुस् भनेको आधारमा उनलाई गृहमन्त्रालयहुँदै पक्राउ गराएर प्रहरी वृत्त दरवारमार्गको हिरासतमा पूर्याएका छन्।
शुक्रवार क्यानडामा हुने एक कार्यक्रममा जानका लागि उनी छायाँ सेन्टरमा रहेको भिएफएसको कार्यालयमा गएका थिए। त्यहाँ सेवाग्राहीलाई लाइनमा मिलाउन खटिएका ‘गरुड सेक्युरिटी’का शेरजंग गुरुङले मन्त्री भए पनि लाइनमा आउनु भनेपछि दुबैबिच विवाद भएको थियो।
विवादकैविच उनी गएर काम सक्काएर फर्किएपछि मन्त्रालयबाट मन्त्रीमाथि दुर्व्यवहार भएको भन्दै कारवाहीका लागि गृह मन्त्रालयमा पत्र पठाए। पर्यटनबाट आएको पत्र अनुसार गृहले शुक्रवारै प्रहरी प्रधान कार्यालयमा पत्र पठायो। र प्रहरी प्रधान कार्यालय उपत्यका प्रहरी कार्यालय हुँदै काठमाडौँ जिल्ला परिसरमा पत्र पुगेपछि उनलाई दरबारमार्ग वृत्तले पक्राउ गरेर हिरासतमा राख्यो।
प्रहरीले उनलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थपेर हिरासतमा राख्ने तयारी गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख भरतबहादुर बोहोराले उनीमाथि अभद्र व्यवहारमा म्याद लिएर अनुसन्धानको तयारी भइरहेको पुष्टि गरे।
भदौ १९, २०७९ आइतबार १६:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।