राप्रपाका एक्ला सांसद लिङदेनले दिए सांसद पदबाट राजीनामा

काठमाडौँ : प्रतिनिधि सभाको कार्यकाल बढाउन कानुन संशोधन गर्ने सरकारको तयारीप्रति असहमति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन्।
उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा राजीनामाको घोषणा गरेका हुन्। उनले राजीनामाको कारण खुलाउँदै प्रतिनिधिसभा सदस्यको कार्यकाल मङ्सिर ४ गतेपछिका लागि पनि राख्ने तयारी भएको बताए।
उनले भत्ता पकाउनका लागि मात्रै संसद् आइँदैन भनेर आउन छोडेको तर सरकारले संसद्को आयु मङ्सिर ४ गतेपछि कायम गर्ने भन्ने निर्णय प्रक्रियामा आएकाले राजीनामा दिएको बताए।
'प्रतिनिधि सभाको समयावधि बढाउने तयारीले लज्जित र दुःखित तुल्यायो । अब सांसद छैन भनेर बाटो बाटो भन्दै हिँड्नु उपयुक्त हुँदैन भन्ने लाग्यो। संसद्मा उपस्थित भएर सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर यो घोषणा गर्छु। अब म संसद्मा उपस्थित हुने छैन।'
उनले सरकार चुनावी रूपमा बनाउनुपर्ने भन्दै निर्वाचन घोषणापछि पनि संसद् चल्नु राम्रो नभएको बताएका थिए।
लिङ्देन २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनी प्रतिनिधि सभामा राप्रपाका एक्ला सांसद थिए।
भदौ १९, २०७९ आइतबार १६:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।