नुवाकोटमा केसी-महत परिवारको कब्जा : सके आफैँलाई टिकट, नसके भाई-भतिज

काठमाडौँ : लामै भयो नुवाकोट जिल्लामा रामशरण महत अनि अर्जुन नरसिंह केसीको राजनीतिक सिन्डिकेट चलेको। यी दुवै परिवारबिच जिल्लादेखि केन्द्रसम्मै प्रतिस्पर्धा हुने गरेको छ तर परिवारका सदस्यका हितमा। आफू त भइनै हाले उनीहरूले आफूसँगै सके भाइ नसके भतिजलाई कांग्रेसको राजनीतिमा अगाडि बढाउने गरेका छन्।
यसमा कहिले केसीको जित हुन्छ त कहिले महतको। यस पटक भने जिल्लामा महत परिवारको पल्ला अलि भारी नै देखिन्छ। कारण जिल्ला सभापतिमा महत परिवारका रमेश महत। उनीसँग केसी परिवारबाट चिकित्सकहुँदै राजनीतिमा हाम फालेका केदारनरसिंह केसी प्रतिस्पर्धा गर्न गएका थिए। तर सकेनन्। यस अगाडि जिल्लाको नेतृत्व केसी परिवारको कब्जामा थियो। जगदिशनरसिंह केसीमार्फत। यो पटक त्यो फुत्कियो।
यसको असर पार्टीको निर्णयमा देखिन सुरु भयो। अर्जुननरसिंह केसी प्रत्यक्षतर्फ नै सांसदको उम्मेदवार बन्न चाहन्थे तर उनको नाम नुवाकोट २ बाट यस पटक समानुपातिकमा सिफारिस भयो।
यस अगाडि उनी प्रत्यक्षमा उम्मेदवार बन्दा उनको भाइ जगदीश नरसिंह केसी समानुपातिकमा उम्मेदवार बन्ने गरेका थिए। दाइलाई समानुपातिकमा राखे पनि भाइको नाम प्रत्यक्षमा सिफारिसै भएन।
नुवाकोट-२ बाट प्रत्यक्षतर्फ बहादुरसिंह लामा, लालिमाया तामाङ र राज्यलक्ष्मी श्रेष्ठको नाम सिफारिस भयो।
उता नुवाकोट क्षेत्र नम्बर १ बाट रामशरण महतको नाम प्रत्यक्ष र समानुपातिक दुबैतिर सिफारिस भयो। पछिल्लो समय शारीरिक अवस्थाका कारण उनी पनि राजनीतिक दौडधुपमा त्यति सक्रिय छैनन्।
क्षेत्र नम्बर १ को प्रत्यक्षमा भने रामशरणका भाइ प्रकाशशरणको नाम सिफारिस भएको छ। उनको नाम काठमाडौँ क्षेत्र नम्बर पाँचबाट समेत सिफारिस भएको छ।
रामशरण प्रत्यक्षमा उम्मेदवार बन्दा प्रकाशशरण समानुपातिकबाट सांसद बन्दै आएका थिए। गत निर्वाचनमा उनी नुवाकोट छाडेर काठमाडौँ क्षेत्र नम्बर पाँचबाट प्रत्यक्षमा उम्मेदवार बने र पराजित भएका थिए।
केसी परिवारका अर्का भाइ डा केदानरसिंह केसी, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजारको नाम समानुपातिकमा सिफारिस भएको छ।
भदौ १९, २०७९ आइतबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।