रञ्जन मुद्दामा चोलेन्द्रले भने' महाभियोग लाग्छ भने आपत्ति छैन , गिल्टी फिल गर्दिनँ'*

रञ्जन मुद्दामा चोलेन्द्रले भने' महाभियोग लाग्छ भने आपत्ति छैन , गिल्टी फिल गर्दिनँ'*

काठमाडौँ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले श्रीमतीको हत्या गरेर शव जलाउँदै प्रमाण नष्टको प्रयास गरेका सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसलामा छोराहरूको कारण दया लागेर फैसला गरेको दाबी गरेका छन्।

२०६८ पुस २७ मा कोइरालाले महाराजगन्जमा रहेको घरमा श्रीमती ढकालको हत्या गरेर शव मकवानपुरको मेत्राङ पुर्याएर जलाएका थिए । शवको जलेको नाडीमा फेला परेको घडीको आधारमा सो शव गीताको भएको खुलेको थियो। उनी माघ ८ गते पक्राउ परेका थिए।

कोइरालालाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो। पुनरावेदन अदालतले पनि जिल्लाकै फैसला सदर गरे पनि राणासहितको इजलासले सर्वोच्चबाट भने चित्तमा लागेको भन्दै कैद घटाएका थिए। पछि फैसला पुनरावलोकन गरेर पुरानै फैसला सदर गरियो। कोइराला पक्राउ परे।

समितिमा आइतबार यही प्रश्न सोधिएको थियो। महाअभियोग सिफारिस समितिमा आइतबार बयान दिने क्रममा उनले कोइरालाको फैसलामा विवेक प्रयोग गरेर फैसला गरेको र न्यायाधीशलाई विवेक प्रयोग गर्ने कानुनी अधिकार रहेको तर्क गरेका थिए।

'विवेक प्रयोग गरेर दुइटा सन्तानका लागि अभिभावकत्व चाहिन्छ भन्ने आशयबाट साढे आठ वर्षको राय लगाएको हो,’ उनले बयानमा भने,‘ विवेकमा प्रश्न उठाउन पाइँदैन, तैपनि यसबाट  गम्भीर गल्ती भएकै हो भन्ने लाग्दछ भने त्यसमा कुनै पनि अनियमितता, भ्रष्टाचार भएको होइन ।’

उनले सो फैसलाले आफूमा कुनै पश्चात्ताप समेत नरहेको बयानमा बताएका थिए।

'अदालतमा समेत छोराहरू उपस्थित भएका छन् । त्यो आधारबाट हामीले मुद्दा हेर्दा आठ वर्ष ६ महिना कैद बसिसकेको अवस्था थियो । मिसिल हेर्दा दयनीय अवस्था छ भन्ने महसुस भयो,' उनले भने' न्यायाधीशलाई विवेक प्रयोग गर्ने कानुनले दिएको अधिकार र व्यवस्था हो । त्यो विवेक प्रयोग गरेर दुइटा सन्तानका लागि पनि अभिभावकत्व चाहिन्छ भन्ने आशयबाट साढे आठ वर्षको राय लगाएको हो ।'

उनले दुई वटा बालकका लागि भरणपोषण गर्नुपर्ने दायित्व आमाको अभावमा बाबु भएकाले, घटना पनि पारिवारिक भएकाले गरेको निर्णयलाई प्रधानन्यायाधीशबाट भएको गम्भीर गल्ती ठानेर अवकाश हुनुपर्छ र महाभियोग लाग्छ भने आफूले हार्दिकतापूर्वक क्षमा चाहन्छु  भनेका थिए।

'यसै कारण मलाई महाभियोग लाग्छ भने कुनै आपत्ति छैन । ‘गिल्टी फिल’ म गर्दिनँ । साढे आठ वर्ष राय लगाएर गर्दा पीडित परिवारलगायतबाट प्रश्न उठाइयो । यसबाट मलाई पनि दुःख लागेको छ । यो कुरो नभइदिएको भए हुन्थ्यो भन्ने मैले अहिले महसुस गरेको छु । यसबाट गल्ती भएको छ,' उनले भने।

 *समितिका सदस्य मीन विश्वकर्माले राणाको बयानबारे दिएको जानकारीका आधारमा प्रकाशित समाचार र राणाको बयानको भिडियोमा फरक भनाई देखिएकाले क्षमा याचना सहित समाचार पुनर्लेखन गरी प्रकाशित गरेका छौँ।

-सम्पादक

भदौ १९, २०७९ आइतबार १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।