भारत-पाकिस्तानबीच सुपर ४ को खेल आज, दुवै टोलीले गुमाए प्रमुख खेलाडी

भारत-पाकिस्तानबीच सुपर ४ को खेल आज, दुवै टोलीले गुमाए प्रमुख खेलाडी

एजेन्सी: भारत र पाकिस्तानबीच आज एसिया कपको सुपर ४ अन्तर्गतको खेल हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बाट सुरु हुनेछ।

यसअघि यी दुई टोलीबीच आठ दिनअघि खेल भएको थियो। त्यसमा भारत ५ विकेटले विजयी भएको थियो।

दुबई इन्टरनेशनल स्टेडियममा खेलिने आजको खेलमा पाकिस्तान हारको बदला लिने दाउमा हुनेछ। भारतलाई दोस्रो खेलमा पनि जित कायम राख्नुपर्ने दबाब हुनेछ।

तर आजको खेलमा भारत र पाकिस्तान दुवैले आफ्ना प्रमुख खेलाडी गुमाएका छन्। चोटका कारण भारतका रवीन्द्र जडेजा प्रतियोगिताबाटै बाहिर भएका छन्। पाकिस्तानविरुद्धको पहिलो खेलमा जडेजाले जितका लागि महत्त्वपूर्ण पारी खेलेका थिए। यस्तै भारतका आवेश खान पनि मैदान बाहिर हुनेछन्।

यता पाकिस्तानका तीव्र गतिका बलर शाहनवाज दहानी मैदान बाहिर हुनेछन्। चोटका कारण शाहीन अफ्रिदीलाई यसअघि नै गुमाएको पाकिस्तानका लागि शाहनवाजको अनुपस्थिति खड्किनेछ।

रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानबीचको आजको खेल फाइनल प्रवेशका लागि महत्त्वपूर्ण हुनेछ।

भदौ १९, २०७९ आइतबार ०९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।