रक्सी पिएको आरोपदेखि अदालतमाथि गरेको टिप्पणीसम्मको स्पष्टीकरण दिए मेयर बालेनले, 'फुटपाथबाट मकैको ठेला हटाएकाले अझै धर्मसंकट महसुस हुन्छ'

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूमाथि लागेका आरोप र आक्षेपबारे स्पष्टीकरण दिएका छन्। आफ्नो कार्यकालको एक सय दिन पुगेको अवसरमा मेयर बालेनले आफूमाथिका आरोप र भएका कामको विरोधबारे स्पष्टीकरण दिएका हुन्।
उनले आफ्नो एक सय दिन कस्तो रह्यो भन्नेबारे आफूले भन्दा आममानिसहरूले गरेको मूल्याङ्कन अर्थपूर्ण हुने बताएका छन्। 'हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ, त्यसले आममानिसहरूमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ', उनले भने।
मानिसहरूमा सकारात्मक ऊर्जा प्राप्त भए वा परिवर्तनको महसुस भए मात्र आफ्नो कामले नतिजा दिएको हुने उनले स्पष्ट पारेका छन्।
'अन्यथा हामीले यत्तिका कामहरू गर्यौँ भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौँ', उनले भने।
मेयर बालेनले आफूमाथिका ६ आरोप र विरोध: फुटपाथबाट मकैको ठेला हटाएको बारे, ई स्पोर्ट्सका लागि एक करोड छुट्याएको बारे, यमबुद्धको सालिक निर्माणबारे, कार्यक्रममा रक्सी पिएको र मुकुट परिवर्तन गरेको बारे, फोहोरमैला व्यवस्थापनमा ढिलाइ बारे र नर्भिक अस्पतालसहितको अनधिकृत संरचना हटाउनेबारे स्पष्टीकरण दिएका हुन्।
फुटपाथबाट मकैको ठेला हटाएको सन्दर्भले आफूलाई अझै पनि एक किसिमको धर्मसंकट महसुस हुने गरेको बालेनले बताएका छन्। तर फुटपाथको निर्माण नै पैदलयात्रीहरूका लागि भएकाले भावनात्मक मात्रै भएर समस्या समाधान नहुने उनले बताए। उनले शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुला हुन जरुरी भएको पनि भने। 'महानगरले पहिले फुटपाथका व्यापारीहरूलाई अन्यत्र राखेर खुला गर्ने कोसिस गरेको थियो, जुन पूर्णरूपमा असफल भएको थियो। दिएको ठाउँ पनि भरिने र पुन: फुटपाथमा नयाँ व्यापारीहरू आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो', उनले भने, 'यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यही गरियो र गरिदैँछ।'
तर यदि संघीय सरकारमा आफू भइदिएको भए राष्ट्रियस्तरमा नै यसको समाधान गरिने उनले बताए। यद्यपि आफूहरूको कामको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरूमा देखिन थालेको उनले उल्लेख गरेका छन्।
यस्तै ई स्पोर्ट्सका लागि एक करोड दिने विषय पनि यसबीचमा निकै विवादित बन्यो। खेल क्षेत्रमा परिवर्तन भइरहेको र ई स्पोर्ट्स पनि खेलका रूपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको विषय बनिरहेको उल्लेख गर्दै बालेनले त्यसमा आफूहरू तयार हुने कि नहुने? भन्दै प्रश्न गरेका छन्।
आफूले परिवर्तनलाई समाजमा स्थापित गर्न बजेट छुट्याएको उनले दावी गरेका छन्। बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरूले बुझ्दै गएपछि आएका प्रतिक्रियाहरू फरक हुन थालेको भन्दै ई स्पोर्ट्समा आफूले चाहे जस्तै कार्यक्रम भएपछि बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुनसक्ने उनले विश्वास गरेका छन्।
यमबुद्धको सालिक निर्माणको विषयको भने जमेर सामाजिक सञ्जालमा विरोध भएको थियो। महानगरमा काम गर्नुपर्ने धेरै क्षेत्र भएको र यमबुद्धको सालिक निर्माण जस्तो कुरामा महानगरले तत्काल ध्यान दिन जरुरी नहुने भन्दै यस कदमको विरोध भएको थियो।
यस सम्बन्धमा मेयरले भनेका छन्, 'एउटा कलात्मक पार्कभित्रको सानो अंगका रूपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो।'
उनले ई स्पोर्ट्सजस्तै हिपहप र त्यसको नेपालीकरण 'नेपहप' संगीतमा नयाँ विधा भएको, यमबुद्ध सो विधाको सम्मानित नाम भएको र यस विधासँग आफू नजिक भएकाले सालिक निर्माण गर्ने भनिएको उनले लेखेका छन्।
'बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइँदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो। तर बजेटमा धेरैभन्दा धेरै पारदर्शिता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो। आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केही फेरबदल गर्यौँ। यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठूलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ', उनले भने।
यसबीचमा मेयर बालेनमाथि व्यक्तिगत आक्षेप पनि लाग्यो। उनले एक सार्वजनिक कार्यक्रममा रक्सी सेवन गरेको र शारीरिक हाउभाउ अस्वाभाविक भएको भन्दै सामाजिक सञ्जालमा यसको विरोध पनि भएको थियो। यसबारे उनले स्पष्टीकरण दिएका छन्, 'मान्छे एउटै जीवनभित्र फरक फरक भूमिकामा हुन्छ। म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रूपमा अव्यवस्थित, पतिका रूपमा प्रेमिल र साथीहरूसँग जिस्किँदै फुटसलमा रमाइरहेको हुनसक्छु। यी भूमिकाका लागि अर्को भूमिकाभन्दा विपरीत हुनुपर्ने पनि हुनसक्छ। माहोलले पनि फरक पार्नसक्छ। कार्यक्रमको चर्चाका लागि वा माहोललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु। यी सबै कुरालाई सोहीरूपमा बुझिदिनुहुन आग्रह गर्दछु।'
यस्तै सार्वजनिक व्यक्तित्व भएकाले समाजमा आफ्ना कार्यहरूले पार्नसक्ने प्रभावका बारेमा भने सजग रहेको उनले बताएका छन्।
फोहोर व्यवस्थापनमा ढिलाइ भएको सन्दर्भमा भने एक सय दिनभित्र जस्तो सोचेको त्यो हुबहु हुन सकेन भनेर उनले स्वीकार गरेका छन्।
तर करिब दुई दशकदेखि कुहिएर रहेको समस्यालाई आफूले सतहमा ल्याउन भने सकेको उनले बताएका छन्। अब भने वास्तविक समस्या पहिचान भएर दीगो समाधानका योजनाहरू बनाउनसक्ने भएको उनले दावी गरेका छन्।
यस्तै नर्भिक अस्पतालसहित विभिन्न अनधिकृत संरचना हटाउने सन्दर्भमा पनि विरोध र समर्थन दुवै भएको छ।
'जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहीरूपमा प्रयोग हुनुपर्छ। हामीले चाहेको यति मात्रै हो। कुनै पनि सर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ', उनले दावी गरेका छन्।
यस्तै आफ्नो स्पष्टीकरणमा उनले अदालतको सन्दर्भमा व्यङ्ग्यात्मक तरिकाले बोलेको, अल्फाविटाका सञ्चालकसँग चर्को स्वरमा बोलेको कुराहरूको पनि प्रतिरक्षा गरेका छन्। 'आममानिसहरूको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउने सेतुका रूपमा मात्रै हामीले ती कार्यहरू गरेका छौँ। सायद जनप्रतिनिधि हुनुको औचित्य पनि त्यही हो', उनले भनेका छन्।
यसका साथै मेयर बालेनले आफूहरू एक सय दिनको दौडमा नभएर पाँच वर्षको योजनासहित आएको बताएका छन्। आफूहरू अझै केही समय गाली र आलोचना मात्रै सहन पनि तयार भएको उनले बताएका छन्। 'हतार गरेर महानगरका समस्याहरूको दीगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ। विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ', मेयर बालेनले भने।
यस्तो छ बालेनको स्टेटस
भदौ १९, २०७९ आइतबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।