गण्डकी प्रदेशस्तरीय खेलकुद: एथ्लेटिक्समा ९ स्वर्ण जित्दै कास्की प्रथम, गोरखा द्वितीय

गण्डकी प्रदेशस्तरीय खेलकुद: एथ्लेटिक्समा ९ स्वर्ण जित्दै कास्की प्रथम, गोरखा द्वितीय

पोखरा: गण्डकी प्रदेशस्तरीय नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको एथ्लेटिक्स खेलमा कास्कीले ९ वटा स्वर्ण पदक जितेर पहिलो स्थान हासिल गर्न सफल भएको छ। शनिबार पोखरा रंगशालामा सम्पन्न एथ्लेटिक्सको विभिन्न स्पर्धामा कुल ९ स्वर्ण पदक जित्दै कास्की प्रथम भएको हो।

प्रतियोगितामा कास्कीले ४ रजत र ३ कास्य पदक जितेको छ।

त्यस्तै गोरखाले ६ वटा स्वर्ण, ३ वटा रजत र एक कास्य पदक जित्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ। नवलपुरले ४ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै तेस्रो स्थान प्राप्त गरेको छ।

प्रतियोगितामा पाँच हजार मिटर महिलातर्फ स्याङ्जाकी जानकी खरालले २१ मिनेट ५० सेकेण्डमा पूरा गर्दै प्रथम भइन्। यस्तै उक्त दुरी २१ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै तनहुँकी नम्रता गुरुङ दोस्रो भइन्।

त्यस्तै पर्वतकी संगीता विक तृतीय भइन्। उनले निर्धारित दूरी २२ मिनेट ४८ सेकेण्डमा पूरा गरेकी थिइन्।

पुरुषतर्फ गोरखाका दिनेश बोगटी प्रथम, गोरखाकै नवराज गुरुङ द्वितीय र पर्वतका आशिष कुँवर तृतीय भएका छन्। प्रतियोगितामा निर्धारित दूरी बोगटीले १६ मिनेट २० सेकेण्ड, गुरुङले १६ मिनेट ४४ सेकेण्ड र कुँवरले १६ मिनेट ४७ सेकेण्डमा पूरा गरेका थिए।

८ सय मिटर पुरुष दौडतर्फ पर्वतका अनिल कुँवर प्रथम, गोरखाका विकास पोखरेल द्वितीय, नवलपुरका नारायण चौधरी तृतीय भएका छन्। कुवँरले सो दूरी २ मिनेट ४ सेकेण्डमा पूरा गर्दै प्रथम भएका हुन्। पोखरेलले २ मिनेट ६ सेकेण्ड ३१ मिलिसेकेण्ड र चौधरीले २ मिनेट ६ सेकेण्ड ६६ मिलिसेकेण्डमा पूरा गरे।

सोही विधाको महिलातर्फ २ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै स्याङ्जाकी चन्द्रकला खराल प्रथम, २ मिनेट ५२ सेकेण्डमा दूरी पूरा गरेकी नवलपुरकी यमुना थापा द्वितीय र २ मिनेट ५६ सेकेण्डमा पूरा गर्दै बाग्लुङकी पार्वती नेपाली तृतीय भइन्।

त्यसैगरी ४ सय मिटर पुरुष दौडतर्फ नवलपुरका नारायण चौधरी, लमजुङका विमित भुजेल र नवलपुरकै प्रकाश महतो क्रमशः प्रथम, द्वितीय र तृतीय भए।

चौधरीले ५२ सेकेण्ड, भुजेलले ५४ सेकेण्ड ६२ मिलिसेकेण्ड र महतोले ५४ सेकेण्ड ६३ मिलिसेकेण्डमा उक्त दूरी पूरा गरेका थिए।

महिलातर्फ स्याङ्जाकी चन्द्रकला खराल प्रथम, कास्कीकी सविना खातुन मिया र रितु भण्डारी क्रमशः द्वितीय र तृतीय भएका छन्।

प्रतियोगितामा खरालले १ मिनेट १० सेकेण्डमा उक्त दूरी पूरा गरेकी थिइन्। सविनाले १ मिनेट १२ सेकेण्डमा पूरा गर्दा भण्डारीले १ मिनेट १४ सेकेण्डमा पूरा गरेकी थिइन्।

२ सय मिटर दौडमा महिलातर्फ २९ सेकेण्ड ५० मिलिसेकेण्डमा कास्कीकी अनिसा भण्डारी प्रथम भइन्। तनहुँकी निशा घर्तिले ३० सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भइन् भने नवलपुरकी अप्सरा विकले ३२ सेकेण्डमा पूरा गरी तेस्रो भइन्।

पुरुषतर्फ कास्कीका सुदीप जोशी प्रथम भए। उनले २४ सेकेण्ड १९ मिलिसेकेण्डमा उक्त दूरी पूरा गरे। नवलपुरका समीर महतोले २४ सेकेण्ड ६६ मिलिसेकेण्डमा उक्त दूरी पूरा गरे। तनहुँका प्रभबहादुर थापाले २४ मिनेट ३ सेकेण्डमा पूरा गरेका थिए।

पुरुष हाइजम्पतर्फ कास्कीका सागर नेपाली प्रथम, नवलपुरका रिखबहादुर घर्ती द्वितीय र नवलपुरकै ओमबहादुर मस्राङ्गी तृतीय भएका छन्। यस्तै महिलातर्फ लम्जुङकी सीमा श्रेष्ठ प्रथम, तनहुँकी तिर्था ढकाल द्वितीय र कास्कीकी कुसुम रानामगर तृतीय भए।

त्यस्तै ज्याभ्लिन थ्रोमा पुरुषतर्फ लम्जुङका तिर्थमान तामाङ, मनाङका विकासबाबु बराम र लम्जुङका यूनिक तामाङ क्रमशः प्रथम, द्वितीय र तृतीय भए। महिलातर्फ तनहुँकी विनीता कार्की प्रथम, सोनु नेपाली द्वितीय र विनिसा राना तृतीय भइन्।

त्रिपलजम्पमा पुरुषतर्फ नवलपुरका नारायण चौधरी, नवलपुरकै समीर महतो र पर्वतका शंकर कुँवर क्रमशः प्रथम, द्वितीय र तृतीय भए।

महिला डिस्क थ्रो प्रतिस्पर्धामा कास्कीकी सोनु नेपाली प्रथम, गोरखाकी मञ्जु गुरुङ द्वितीय र नवलपुरकी लक्ष्मी थनेत तृतीय भए।

भदौ १९, २०७९ आइतबार ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।