स्रोत नखुलेको साढे ३९ लाखसहित २२ वर्षीय टीकाराम पक्राउ

काठमाडौं: नेपाल प्रहरीले स्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका वडा नं ६ का २२ वर्षीय टीकाराम भट्टराई रहेका छन्।
भट्टराईलाई प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौं आउँदै गरेको ना४ख ९६७४ नम्बरको बसबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार बसको ‘ग्यालेरी’मा हरियो रङको झोलाभित्र रहेको उक्त रकमसहित भट्टराई पक्राउ परेका हुन्। भट्टराईसँग प्रहरीले झोला, नगद र एकथान मोबाइल बरामद गरेको छ।
उनमाथि प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।
भदौ १८, २०७९ शनिबार २२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।