नवौं राष्ट्रिय खेलकुद: गण्डकी प्रदेशबाट स्क्वास र टेबल टेनिसका खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुद: गण्डकी प्रदेशबाट स्क्वास र टेबल टेनिसका खेलाडी छनोट

पोखरा: गण्डकी प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको स्क्वास खेलका लागि सात जना खेलाडी छनोट भएका छन्। शनिबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा सम्पन्न खेलबाट प्रदेशका विभिन्न जिल्लाबाट पुरुषतर्फ चार र महिलातर्फ तीन जना खेलाडी छनोट भएका हुन्।

पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पुरुषतर्फ अमृत थापामगर (गोरखा), दीपक थापामगर (कास्की) र नवराज थापा (स्याङ्जा) छनोट भएका हुन्। त्यसैगरी पुरुषतर्फको वैकल्पिक खेलाडीका रूपमा कास्कीका हिराकाजी श्रेष्ठ छनोट भएका छन्।

गोरखाका अमृत फाइनलमा कास्कीका दीपक थापामगरलाई १०–१२, ११–६ र ११–६ ले हराउँदै पहिलो बनेका हुन्। अमृत, नेपालगञ्जमा भएको आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेता समेत हुन्।

महिलातर्फ कृष्ण थापामगर (गोरखा), शृशिका उदास (कास्की) र करिश्मा ओली (कास्की) छनोट भएका छन्। प्रतियोगितामा कृष्ण प्रथम, शृशिका दोस्रो र करिश्मा तेस्रो बन्दै राष्ट्रिय खेलकुदका लागि छनोट भएका हुन्।

प्रतियोगितामा लमजुङ, मनाङ र मुस्ताङ जिल्लाबाहेक बाँकी ८ जिल्लाबाट २६ पुरुष र ७ महिलाले प्रतिस्पर्धा गरेका थिए। राष्ट्रिय खेलकुदका लागि छनोट भएका खेलाडीहरूलाई गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य शुभकन्या गुरुङ, पोखरा महानगरपालिका खेलकुद समितिका अध्यक्ष दीपक गोदार, कास्की जिल्ला स्क्वास संघका अध्यक्ष पुष्पराज श्रेष्ठले मेडल, प्रमाणपत्र प्रदान गरेका थिए।

टेबल टेनिसबाट १० खेलाडी छनोट
टेबल टेनिसका पनि १० खेलाडी छनोट भएका छन्। पोखरा रंगशालाकै टेबल टेनिस हलमा सम्पन्न प्रदेशस्तरीय प्रतियोगिताबाट स्याङ्जाका बुद्धिमान गुरुङ, बागलुङका समीर खत्री, कास्कीका किसन जिसी, लमजुङका पृतम गुरुङ र पर्वतका प्रतीककुमार राना छनोट भएका छन्।

पुरुषतर्फको वैकल्पिक खेलाडीमा कास्कीका अनुष कुँवर छानिएका छन्।

त्यस्तै, महिलातर्फ कास्कीकी मुना थापा, पर्वतकी प्रकृति थापामगर, लमजुङकी शुभेच्छा अधिकारी, कास्कीकै तृषा गुरुङ र बागलुङकी सचिना पुरी छानिएका छन्।

महिलातर्फको वैकल्पिक खेलाडीमा कास्कीकी निर्माला ओली गिरी रहेकी छन्।

छनोट भएका खेलाडीले गण्डकीको टिमबाट पुरुषतर्फको सिंगल्स, डबल्स, टिम इभेन्ट्स तथा महिलातर्फ सिंगल्स, डबल्स, टिम इभेन्ट्स र मिक्स डबल्स गरी ७ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।

प्रदेशको नवलपुरबाहेक अन्य १० जिल्लाबाट करिब ८५ जना खेलाडीहरूले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

भदौ १८, २०७९ शनिबार २१:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।