टी ट्वेन्टीपछि केन्याविरुद्धको एकदिवसीय श्रृङ्खला पनि नेपालको कब्जामा, पौडेल भए म्यान अफ द म्याच

टी ट्वेन्टीपछि केन्याविरुद्धको एकदिवसीय श्रृङ्खला पनि नेपालको कब्जामा, पौडेल भए म्यान अफ द म्याच
तस्बिर: क्यान

काठमाडौं: केन्याविरुद्धको दोस्रो एकदिवसीय खेल पनि नेपालले जितेको छ। यसअघि पहिलो खेल ७ विकेटले जितेको नेपालले दोस्रो खेलमा १६ रनको विजय प्राप्त गर्यो।

यो जितसहित नेपालले श्रृङ्खला नै कब्जा गरेको छ। यसअघि टी ट्वेन्टी श्रृङ्खला पनि नेपालले ३-२ ले जितेको थियो।

यता एकदिवसीयमा भने एक खेल बाँकी छ। तेस्रो तथा अन्तिम खेल नेपालको लागि अब औपचारिकताको मात्र हुनेछ भने केन्यालाई सान्त्वना जित हासिल गर्ने अवसर हुनेछ। सो खेल सोमबार हुनेछ।

आजको खेलमा नेपालले पहिले ब्याटिङ गरेर ४९ ओभर २ बलमा अलआउट हुँदै २३० रन बनाएको थियो। २३१ रन पछ्याएको केन्या ४६ ओभर ३ बलमा अलआउट भएको हो। केन्याले २१४ रन मात्र बनायो।

केन्याको लागि रकिप पटेलले ८४ रनको उल्लेखनीय पारी खेले। तर जितको लागि पर्याप्त भएन। अन्य खेलाडीहरू कोलिन्स ओबुयाले ३५, नेल्सन ओधियाम्बोले २८, गेरार्ड मुथुईले २० रन बनाए।

यता बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए। सोमपाल कामीले ३ विकेट हात पारे। अरू तीन विकेट करण केसी, आदील अन्सारी र पवन सर्राफले बाँडे।

आज नेपालको ब्याटिङ रोहित पौडेलले सम्हाले। उनले ९५ बलमा ७८ रनको पारी खेले। नेपाली टोलीबाट देव खनालले ३७ रन, ज्ञानेन्द्र मल्लले २४ रन र सोमपाल कामीले २६ रन बनाए। अरू खेलाडी खासै चलेनन्। दीपेन्द्रसिंह ऐरीले केवल २ रन बनाए। उनी बलिङमा मात्र चम्किए।

आजको म्यान अफ द म्याच नेपाली टोलीका कप्तान रोहित पौडेल भए।

भदौ १८, २०७९ शनिबार २१:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।