गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङ पुनः प्रदेश सभामै हुनेगरी लमजुङ (ख) बाट सिफारिस

गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङ पुनः प्रदेश सभामै हुनेगरी लमजुङ (ख) बाट सिफारिस

पोखरा: एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आउँदो निर्वाचनमा प्रदेश सभातर्फ सिफारिस भएका छन्। उनी लमजुङ (ख)बाट सिफारिस भएका हुन्।

एमाले लमजुङको आज बेंसीशहरमा आयोजित पाँचौँ पूर्ण बैठकले गुरुङलाई प्रदेशमा उठाउने निर्णय गरेको हो। उक्त बैठकले गुरुङसहित एमाले जिल्ला अध्यक्ष रहेका कृष्णप्रसाद अधिकारीलाई पनि सिफारिस गरेको छ।

गुरुङ यसअघिको निर्वाचनमा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालालाई आठ हजार ६६ मतान्तरले हराउँदै प्रदेश सदस्यमा निर्वाचित भएका थिए। गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गरेका थिए।

क्षेत्र (क)को प्रत्यक्षतर्फ एमाले गण्डकी प्रदेश कमिटीका सचिव एवं प्रदेश सभा सदस्य धनञ्जय दवाडी, राजकुमार विष्ट र जीतबहादुर गुरुङको नाम सिफारिस भएको छ। यसअघि दवाडी यही क्षेत्रबाट निर्वाचित भएका थिए।

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको लमजुङमा प्रत्यक्षतर्फ एमालेबाट केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य जमिन्द्रमान घले र जिल्ला पार्टी सचिव सुभास पौडेलको नाम सिफारिस भएको छ। विसं २०७० मा लमजुङ क्षेत्र नं १ बाट नेपाली कांग्रेस लमजुङका नेता डा. टकराज गुरुङलाई हराउँदै घले संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिनिधि सभा समानुपातिकतर्फ केन्द्रीय सदस्य टुकाभद्र हमाल, कल्पना थापा, प्रेमबहादुर दुराको नाम सिफारिस भएको छ। प्रदेश (क) र (ख) मा समानुपातिकतर्फ– प्रेमबहादुर घले, मोहनहरि पौडेल, महेन्द्रलाल श्रेष्ठ, बमबहादुर थापा, फूलबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल, अमृत तामाङ, रामहरि दवाडी, गणेश पाण्डे, लक्ष्मी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया थापा मगरको नाम सिफारिस भएको छ।

भदौ १८, २०७९ शनिबार २०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।