गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी विजेता

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी विजेता

पोखरा: प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको खेलकुद प्रतियोगिताको भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दीको टिम च्याम्पियन बनेका छन्। पुरुषतर्फको फाइनलमा नवलपुरले बलियो मानिएको स्याङ्जालाई २–१ सेटमा पराजित गरेको हो।

लिग खेलमा तनहुँसँग पराजय भोगेको नवलपुरले सेमिफाइनलमा कास्कीलाई २५–१७, ३१–२९ र २५–१७ ले पराजित गरेको हो।

फाइनलमा नवलपुरले पहिलो सेट ३०–२८ ले स्याङ्जालाई सुम्पिए पनि पछिल्ला दुई सेटमा लगातार स्याङ्जालाई २५–२३ र ३०–२८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जित्न सफल भएको हो। खेलमा उपविजेता बनेको स्याङ्जाले रजत पदक प्राप्त गरेको छ।

पुरुषतर्फ कास्कीले कास्य पदक जितेको छ। तेस्रो स्थानका लागि कास्कीले पर्वतलाई २५–१७, २९–२७ र २५–२३ ले पराजित गरेको हो।

यता महिलातर्फ फाइनलमा नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही सम्मिलित टिम म्याग्दीले पर्वतलाई २५–१८, १३–२५ र २५–१८ ले हराएको हो। म्याग्दीले स्वर्ण पदक जितेको छ।

यसअघि भएको सेमिफाइनलमा म्याग्दीले तनहुँलाई सोझो सेटमा २५–११ र २५–१४ ले पराजित गर्दै पर्वतसँग भेट पक्का गरेको थियो। रजत पदक विजेता पर्वतले कास्कीलाई २५–२३ र २५–२१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

यसैगरी महिलातर्फको खेलमा कास्कीले तनहुँलाई २५–१२ र २५–१० ले पराजित गर्दै कास्य पदक हात पार्न सफल भएको छ।

विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष तेजबहादुर गुरुङ, नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार नारायण शर्मा, प्रदेश खेलकुद परिषद्की सदस्य शुभ कन्या गुरुङ लगायतले मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए।

भदौ १८, २०७९ शनिबार २०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।