माओवादी मात्र होइन, इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ: माधवकुमार नेपाल

काठमाडौं: एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग मात्र नभएर इमान्दार वामपन्थी विचार बोकेका सबै पार्टीसँग एकता हुने बताएका छ्न्। नेपालले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनले देशका सबै सच्चा इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए। उनले त्यस्ता पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको पनि बताएका थिए।
यस्तै भागबण्डाको बारेमा गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँट हुने उनले बताए। विगतमा गठबन्धन दलहरूका उम्मेदवारले जितेको सिटका आधारलाई टेकेर बाँडफाँट हुने उनको धारणा थियो।
लोकतन्त्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन, सुशासन र मुलुकका लागि गठबन्धन गरेर निर्वाचनमा जानु नै फलदायी हुने पनि उनले बताए।
यस्तै नागरिकताको सम्बन्धमा उनले विगतमा एमालेले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशअनुसार नै वर्तमान सरकारले विधेयक ल्याएकाले यसको विरोध गर्नुको कुनै अर्थ नरहेको प्रष्ट पारे।
भदौ १८, २०७९ शनिबार १७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।