मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई हवल्दारको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई हवल्दारको मृत्यु

सुनसरी: कोशी गाउँपालिका–१ मा आज मोटरसाइकल दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन्।

सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा६०प ४४९२ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को२च २६४९ नंको पिकअप भ्यानले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।

चौधरीको घटनास्थलमा र गोजेवारको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ।

चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत थिए भने गोजेवार मोरङको धनपतिमा कार्यरत थिए। दुवैको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। ठक्कर दिने सवारीसाधनका चालक कोशी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भदौ १८, २०७९ शनिबार १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।