ठगी आरोपीलाई भिआइपी कक्षबाटै भगाउने समिमका विवाद शृङ्खला, नागरिकता र शैक्षिक योग्यतामै शङ्का

ठगी आरोपीलाई भिआइपी कक्षबाटै भगाउने समिमका विवाद शृङ्खला, नागरिकता र शैक्षिक योग्यतामै शङ्का

काठमाडौँ : पटक-पटक विवादित काम गर्दै आएका मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी प्रहरीको पक्राउ सूचीमा रहेका ठगीका आरोपीलाई विमानस्थलको भिआइपी कक्षबाटै भगाएको विवादमा तानिए।

उनले दुबईबाट आएका रिजवान आलमलाई विमानस्थलमा पक्राउ गर्न दिएनन्। उनले आफ्नो पाहुनाभन्दै राहदानीमा अराइभलको छाप समेत लगाउन नदिई आफ्नै गाडीमा राखेर विमानस्थलबाट बाहिर निकालेर अध्यागमन कानुन उलङ्घन गरे।

 एक करोड ६८ लाख रुपैयाँ ठगीमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएका आलम धन्न होटल मेरियटमा फेला परे। प्रहरीले उनलाई अहिले हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

अन्सारी विवादमा आइरहने पात्र नै हुन्। स्थानीय तहको निर्वाचनमा उनी मौन अवधिमा जनपुर पुगेर पैसा बाँडेको आरोपमा परे।

मौन अवधिमा जनकपुर पुगेका उनलाई होटलमा एमालेका स्थानीय कार्यकर्ताहरूले घेरेपछि प्रहरीले नै हस्तक्षेप गरेर उद्धार गर्नुपरेको थियो।

सीताशरण होटेलको कोठा नम्बर ३०५ बाट बसेका उनलाई प्रहरीले विमानस्थल ल्याएर काठमाडौँ पठाएको थियो। उनले आफ्नो चरित्र हत्या गरेको दाबी त गरे त मौन अवधिमा उनी के प्रयोजनले जनपुर पुगेर राजनीतिक भेटघाटमा सक्रिय भए भन्ने खुलाएनन्।

यो त सामान्य विवाद भयो। उनी नेपाली नागरिकता अनि शैक्षिक प्रमाण पत्र नै नक्कली भएको गम्भीर आरोपमा समेत परेका छन्। अनि यो अझैँ निराकरण समेत भएको छैन।

तत्कालीन नेकपा नेतृत्वको सरकारबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको कोटामा उनी मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका थिए। उनी सिफारिस भए लगत्तै उनको नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्र विवादमा आयो। उनी विरुद्ध संसदीय छानबिन समितिमा उजुरी समेत परेको थियो। तर त्यो बेला सिफारिस भएका संवैधानिक आयोगका कुनै पदाधिकारीबारे सुनुवाइ नै भएन।

४५ दिनसम्म सिफारिसमा सुनुवाइ भएर टुङ्गो नलागे नियुक्तिमा बाधा नपर्ने कानुनी प्रावधानमा टेकेर नागरिकता जस्तो संवेदनशील विषयका आरोपीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आयोग अध्यक्षमा नियुक्त गरेर शपथ खुवाइन्।

उजुरीमा अन्सारीको जन्म भारतमा भएको र उनले नेपालमा नक्कली आमाबुवा बनाएर काठमाडौँबाट नागरिकता लिएको दाबी गरिएको थियो।

मुस्लिम आयोगका अध्यक्षले भिआइपी कक्षबाट भगाइएका ठगी आरोपी होटल मेरियटमा भेटिए

उनी भारतको विहार राज्यअन्तर्गत मोतीहारी जिल्लाको पहाडपुर थानाग्रामका स्थानीय भएको उजुरीमा दाबी गरिएको थियो।

दोस्रो अन्सारीको शैक्षिक प्रमाणपत्र समेत नक्कली भएको दाबी सहित उजुरी परेको थियो।

उनले काठमाडौँस्थित मुस्लिम मदरसाबाट ९ कक्षा मात्र उत्तीर्ण गरे पनि भारतको बिहारस्थित मगध विश्वविद्यालयबाट स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र लिएको उजुरीमा दाबी गरिएको थियो।

अन्सारीको प्रमाणपत्र तहको सर्टिफिकेटको अवस्था नखुलेको, सन् २००४ मा स्नातकको सर्टिफिकेट लिएका अन्सारीले १४ वर्षपछि (सन् २०१८) मा मात्र नेपालबाट इक्विभ्यालेन्ट गराएको उजुरीमा दाबी गरिएको थियो।

उनको नागरिकताबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आएको विवरणमा अन्सारीको नागरिकता र ढड्डामा जन्म मिति नै फरक-फरक रहेको आएको थियो।

नागरिकतामा जन्म मिति २०३७ असोज २४ गते रहेको तर ढड्डामा भने २०३० साल असोज २४ गते उल्लेख रहेको विवरण आएको थियो। उनले २०५५ पुस २२ मा काठमाडौँबाट नागरिकता लिएको र २०६६ भदौ ९ गते नागरिकताको प्रतिलिपि लिएको प्रशासनको विवरणमा देखिएको थियो।  

३७८४/८७१ नम्बरको नागरिकता लिएका अन्सारीको ढड्डामा ८७० नम्बरको नागरिकता दिने सिडिओको नाम योगेन्द्रनाथ ओझा र ८७२ नम्बरको नागरिकता जारी गर्ने सिडिओको नाम प्रेमलाल श्रेष्ठ उल्लेख रहेको खुल्यो। तर गम्भीर विषय छानबिन गरेर टुङ्गो नै नलगाई उनी आयोगको अध्यक्षमा नियुक्त भए। उनी नेपाल कुस्ती सङ्घमार्फत खेल राजनीतिमा समेत संलग्न छन्।

भदौ १८, २०७९ शनिबार १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।