केन्यालाई २३१ रनको लक्ष्य दियो नेपालले, कप्तान रोहितले खेले ७८ रनको पारी

काठमाडौं: नेपाल र केन्याबीच जारी एकदिवसीय श्रृङ्खलाको दोस्रो खेलमा नेपालले केन्यालाई २३१ रनको लक्ष्य दिएको छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेर नेपालले २३० रन बनाएको हो।
नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर २३० रन बनाएको हो।
नेपालका लागि रोहित पौडेलले ७८ रनको पारी खेले। सन्दीप लामिछानेको अनुपस्थितिमा नेपाली टोलीको कप्तानी सम्हालेका पौडेलले ९५ बल खेलेर ७ चौकासहित ७८ रन बनाएका हुन्। नेपाली टोलीबाट देव खनालले ३७ रन, ज्ञानेन्द्र मल्लले २४ रन र सोमपाल कामीले २६ रन बनाए।
अरू खेलाडी खासै चलेनन्। दीपेन्द्रसिंह ऐरीले केवल २ रन बनाए।
खेलको दोस्रो पारी सुरु भएको छैन। केही बेरमा केन्याको टोली ब्याटिङमा उत्रनेछ।
यसअघि हिजो भएको पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने टी ट्वेन्टी श्रृङ्खला ३-२ले नेपालले जितेको थियो।
आजको खेल जितेमा नेपालले एकदिवसीय श्रृङ्खला पनि जित्नेछ। तेस्रो र अन्तिम एकदिवसीय सोमबार हुनेछ।
भदौ १८, २०७९ शनिबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।