गगन थापाको चुनावी अनुभव : हार्ने डरले सधैँ सताइरहन्छ

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाको संसदीय यात्रा समानुपातिक सांसदको रूपमा सुरु भयो। त्यसपछि मात्रै उनी प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बने। उनी २ पटक काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भइसके। अनि अब ह्याट्रिकको दाउमा छन्।
पहिलो निर्वाचनमा आफ्नो पार्टीबाट सुप्रभा घिमिरे उम्मेदवार बन्दा पनि उनी रोकिएनन्। दोस्रो निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धन भए पनि उनको प्रतिस्पर्धी राजन भट्टराइले जित निकाल्न सकेनन्।
यस पटकको निर्वाचनमा उनी काठमाडौँ ४ बाट प्रतिनिधि सभाका लागि सिफारिस भएका छन्। उनको प्रतिस्पर्धामा राजन भट्टराई वा निर्मल कुइँकेललाई एमालेले मैदानमा उतार्ने तयारी गरेको छ। भट्टराई कपनवासी हुन् भने कुइँकेल पशुपति क्षेत्रवासी।
पाँच दलीय गठबन्धनसहित उम्मेदवार बन्दा गगन बलिया उम्मेदवार हुने पक्का छ। तर उनको मनमा भने हार्ने डर लागिरहने रहेछ।
शनिवार काठमाडौँको बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा थापाले आफ्नो चुनावी अनुभव विध्यार्थीहरुँग बाँडेका थिए। उनले हरेक चुनावमा आफूलाई हारिएला कि भनेर डर लाग्ने गरेको बताए।
‘विद्यार्थीलाई परीक्षामा फेल भइन्छ कि भन्ने डर लागेझैँ चुनावमा पनि त्यस्तै हुन्छ,' उनले भने।
चुनावमा उठेपछि जित हारलाई सहजै लिन सक्नुपर्ने भन्दै उनले विध्यार्थीहरुलाई पनि फेल वा पास दुबैलाई सहज रूपमा लिन आग्रह गरेका थिए।
‘एउटा चुनाव जितेर खुसी भयो तर त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्छ,' उनले भने' उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर। जिन्दगी यसरी नै जाने हो।'
भदौ १८, २०७९ शनिबार १४:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।