संसद्को टिकटका लागी सुजाताको थ्रेटमा परेका मिनेन्द्र जापानमा, आरजु पनि उतै

काठमाडौँ : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल र नेतृ आरजु राणा जापान गएका छन्। रिजाल नेपाल फेस्टिभलको उद्घाटनका लागि जापान गएका हुन् भने आरजु उपचारका लागि।
आरजु सहयोगीसहित नेपाल एयरलाइन्सको विमानबाट जापान गएकी हुन्। उनको जापान बसाई केही लामै हुने स्रोतले बतायो। रिजाल जापानको नायोगामा हुने कार्यक्रममा सहभागी भएर केही राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम रहेको छ। उनले जापानका सहायक अर्थमन्त्री इमाइदा सोइचिरोसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ।
रिजाल गैर आवासीय नेपाली सङ्घ क्षेत्रीय समिति नागोया र नेपाली दूतावासको संयोजकत्वमा हुने फेस्टिभलमा सहभागी हुनेछन्।
जानकारस्रोतका अनुसार आरजुको यात्रा भने स्वास्थ्य सम्बन्धी हो। केही समय अगाडि उनले भारतमा आफ्नो उपचार गराएकी थिइन्। दुवै एकै पटक जापानमा रहेकाले आउँदो सांसदको निर्वाचनसँग समेत यसलाई जोडिएर हेरिएको छ।
रिजालको निर्वाचन क्षेत्र मोरगं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि सुजाता पहिलो नम्बरमा सिफारिस भएकी छिन् भने रिजाल दोस्रो नम्बरमा। आफ्नो बाबु गिरिजाप्रसाद कोइरालाको क्षेत्र भएकाले यस पटक आफैँ उम्मेदवार हुने भन्दै सुजाताले लबिङ बढाएकी छिन्।
उता पार्टीको महामन्त्री पदमा पराजित भएपछि रक्षा मन्त्रीबाट राजीनामा दिएका रिजालले सक्रिय राजनीतिबाट बिदा लिने आशयका धारणा सार्वजनिक गरेका थिए। तर पछि प्रतिनिधि सभामा उम्मेदवार बन्न आवेदन दिए।
पार्टी सभापति शेरबहादुर देउवासँग रिजालको सम्बन्ध राम्रो छैन। पहिला प्रजातान्त्रिक कांग्रेममा रहेका रिजाल देउवासँगको सम्बन्ध बिग्रिएपछि तत्कालीन संस्थापन समूहमा लागेका थिए।
पछिल्लो समय संस्थापनइतरबाट समेत मोरगं २ को टिकट सुरक्षित नदेखिएपछि उनी आरजुमार्फत टिकट सुरक्षित गर्ने रणनीतिमा लागेका छन्।
१४ औँ महाधिवेशनमा प्रकाशमान सिंह समूहमा रहेकी सुजाताले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्न समन्वयकारी भूमिका निभाएकी थिइन्।
भदौ १८, २०७९ शनिबार १४:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।