श्रीमती र छोरासहित तीन जनाको हत्या गरी भाग्दै गरेका नरबहादुर पक्राउ

श्रीमती र छोरासहित तीन जनाको हत्या गरी भाग्दै गरेका नरबहादुर पक्राउ

काठमाडौं: आफ्नै श्रीमती र छोरासहित तीन जनाको हत्या गरी भाग्दै गरेका व्यक्ति पक्राउ परेका छन्। उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन्।

नरबहादुरले आफ्नै परिवारका तीन जनाको हत्या गरेर भागेका थिए। शुक्रबार दिउँसो पारिवारिक विवाद भएपछि बेलका नगरपालिका–७ मैनामैनीका ३३ वर्षीय राजकुमार बस्नेत, ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय सुजन बस्नेतको उनले हत्या गरेका थिए।

तीनै जनालाई नरबहादुरले खुकुरी प्रहार गरेका थिए। मृतक सरिता नरबहादुरकी श्रीमती हुन् भने सुजन छोरा हुन्।

जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेशकुमार शोदारका अनुसार घटना लगत्तै ईलाका प्रहरी कार्यालय बेलका रामपुरको टोली परिचालन गरिएको थियो। उनलाई बेलका–६ बरबोट नजिकैको जङ्गलबाट खुकुरीसहित पक्राउ गरिएको हो।

नरबहादुरको बयान लिने कार्य भइरहेको र हत्याको कारण चाँडै खुल्ने प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए। तीनै जनाको शव परीक्षणका लागि सुनसरीस्थित बीपी मेमोरियल अस्पताल लगिएको छ।

भदौ १८, २०७९ शनिबार १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।