प्रचण्डले भने– ‘विकास र समृद्धिबाट देशभर नै नयाँ सन्देश दिने संकल्प छ’

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकास र समृद्धिबाट देशभर नै नयाँ सन्देश दिने संकल्प रहेको बताएका छन्।
विकास र समृद्धिलाई गति दिन सक्नेलाई चितवनबासीले रुचाएको भन्दै उनले यसले सिंगो देशको विकासको लागि योगदान गर्ने बताए।
चितवनमा नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बोल्दै ‘प्रचण्ड’ले विकास, सुरक्षा र समृद्धिको यात्रालाई जनताले राम्रो महशुस गरेको स्थानीय तहको निर्वाचनबाट पुष्टि भएको बताए।
‘मलाई विश्वास छ, आउने दिनमा पनि जनताले त्यही आवश्यकता र त्यही चेतनाको बलमा भरतपुरको र चितवनको जिल्लाको सिंगोदेशको विकासको लागि पनि यसले योगदान गर्नेछ,’ उनले भने, ‘यहाँको जनप्रतिनिधिको हैसियतले, पूर्वप्रधानमन्त्रीको हैसियतले या एउटा पार्टीको नेताको हैसियतले यहाँबाट देशभरनै विकास र समृद्धिको एउटा नयाँ सन्देश दिने मेरो संकल्प छ।’
चितवनको भरतपुर महानगरमा उनकै छोरी रेनु दाहाल दोस्रो कार्याकालका लागि मेयरमा निर्वाचित भएकी छन्।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि आफूहरूको जोड स्थायित्व र मुख्यतः विकास र समृद्धितिर नै रहेको उनको दाबी छ।
भदौ १८, २०७९ शनिबार १३:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।