मुस्लिम आयोगका अध्यक्षले भिआइपी कक्षबाट भगाइएका ठगी आरोपी होटल मेरियटमा भेटिए

काठमाडौँ : भिआइपी पदको दुरुपयोग गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले त्रिभुवन विमानस्थलको भिआइपी कक्षबाट भगाइएका ठगी मुद्दाका आरोपी रिजवान आलम होटल मेरियटमा पक्राउ परेका छन्।
आयोगको निमन्त्रणामा दुबईबाट आएको टोली सदस्यमा उनी दोभासेको रूपमा नेपाल आएका थिए।
पाइलट पढाइदिने भन्दै एक करोड ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीसहित ११ जनाको नाममा २०७८ फागुन २७ मा जिल्ला अदालत, काठमाडौँले पक्राउ पुर्जी जारी गरेको थियो।
दाउद हुसेनले उनीहरुविरुद्ध जाहेरी दिएका थिए। आयोगको निमन्त्रणामा दुबईबाट आएको टोलीलाई लिन आयोग अध्यक्ष समिम विमानस्थल पुगेका थिए भने उनले भिभिआइपी कक्ष प्रयोग गरेका थिए।
समूहका रहेका सबैको राहदानीमा अराइभल छापका लागि अध्यागमन विभागको डेस्कमा लैजाँदा आलम रेड लिस्टमा रहेका व्यक्ति रहेको खुलेपछि अध्यागमनले प्रहरीलाई जानकारी गरायो। तर आयोगका अध्यक्षले उनी आयोगको निमन्त्रणामा नेपाल आएको पाहुना भएको भन्दै उनलाई अराइभलको छापै नलगाई विमानस्थलबाट निकालेर आफ्नो गाडीमा राखेर लगेका थिए।
टोली नक्सालको मेरियट होटलमा रहेको सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको एक टोली होटल पुग्यो। होटलमा दुबईबाट आएको टोलीसँगै उनी पनि त्यही रहेको देखिएपछि पक्राउ गरेर ल्याएको थियो।
कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले उनी पक्राउ परेको पुष्टि गरे।
उनी युएईमा रहेको सूचनाको आधारमा प्रहरीले उनी विरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गराउने प्रक्रिया समेत अगाडि बढाएको थियो।
भदौ १८, २०७९ शनिबार ११:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।