माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुँदैन : मन्त्री चौधरी

धादिङ : शहरी विकास मन्त्री एवं एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य मेटमणि चौधरीले माधव नेपालले नेतृत्त्व गरेको पार्टी कहिल्यै कमजोर नहुने बताएका छन्।
एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अध्यक्ष नेपाल कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेता भएको बताए।
शान्ति, संविधान र लोकतन्त्रका लागि जीवन समर्पण गरेको नेता भएकाले माधव नेपालको नेतृत्व गरेका पार्टी कहिल्यै कमजोर नहुने बताए।
मन्त्री चौधरीले एमालेमा आफूहरूले विद्रोह नगरेको अवस्थामा नेपालमा कम्युनिष्ट पार्टीको औचित्य समाप्त हुने बताए। कम्युनिष्टहरू तानाशाही हुन्छन्, संवैधानिक सर्वाेच्चता मान्दैनन् भन्ने विषय स्थापित हुने अवस्थाको अन्त्य गर्न विद्रोह गर्नुपरेको उनले बताए।
मन्त्री चौधरीले ओली नेतृत्त्वको एमाले सबैभन्दा भ्रष्ट, सबैभन्दा घुसखोरी र सबैभन्दा धेरै दलालहरूको अखडा बनिसकेपछि विद्रोह अनिवार्य बनेको धारणा राखे।
हरेक युगमा अन्याय, शोषण र दमनविरुद्ध विद्रोह भएको इतिहास रहेकाले एमालेबाट गरिएको विद्रोह माक्र्सवादी दर्शन शास्त्रीय कोणबाट समेत जायज रहेको उनको भनाइ छ।
भदौ १८, २०७९ शनिबार १०:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।